खरसाङ: जिल्ला ग्रामीण विकास एकाईको एमओडी सभासद एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले आज जीटीएको गिध्द पहाड़स्थित सचिवालयमा रहेको आफ्ने कार्यालयमा प्राणी सम्पदा विभाग खरसाङ खण्डको अधिकारीहरूसित सभा गरेका छन्। सभासद नवराज छेत्रीले आफ्नो समष्टीको लागि विभिन्न कार्यहरू सम्पन्न गर्नलाई उक्त विभागीय अधिकारीहरूलाई लिएर सभा गरेका छन्। उनले विशेष गरी खण्ड प्राणी सम्पदा विभागको डाक्टर हिरालाल हेमब्रम र गिध्द पहाड़स्थित पोल्ट्री मल्टीपल सेन्टरको प्रभारी डा अरूण छेत्रीसित सभा गरेका छन्। उक्त भेटघाट र सभामा सभासद नवराज छेत्रीले विभागको केन्द्रहरू वर्तमान समयमा चल अचल विषयमा उपस्थित अधिकारीहरूबाट जानकारी लिएका छन्। त्यसरी नै बन्दावस्थामा रहेको एडीएसी पुन: सञ्चालनमा ल्याएर मानिसहरूलाई सुविधा प्रदान गर्नलाई छलफल गरेका छन्। यस भेटमा जीटीए क्षेत्रमा बाख्रा पालन ल अन्य पशु प्राणीहरूको पालनबाट सहयोग गर्न साथै कृत्रिम रूपमा प्रजनन गराउने शीघ्र कार्य आरम्भ गर्ने जसको माध्यमबाट जीटीए क्षेत्रमा पनि उन्नत जातिको बाख्रा पालन गरी खटिखाने कृषक अनि पशु पालकहरूका जीवनमा आय स्रोत बढ़ाउन सकियोस् भनी सोच राखेर कार्य गरिने चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्। विशेष गरी विभागको एमओडी सभासद नवराज छेत्रीले यस विभागबाट जीटीए क्षेत्रका पशु पालकहरूलाई फाइदा हुने हिसाबले पहल गरिरहेको जानकारी प्राप्त भएको छ।










