६ दिसम्बरः चोटमुक्त भएर मैदानमा ओर्लिने नेमारको उपस्थितिमा ब्राजीलले असाधारण प्रदर्शन गर्दै फीफा वर्ल्ड कप २०२२-को क्वार्टर फाइनलमा स्थान बनायो। भारतीय समयानुसार सोमवार अबेर राति खेलिएको नक्आउट राउण्डको म्याचमा ब्राजीलले दक्षिण कोरियालाई ४-१-ले पराजित गऱ्यो। चोटले गर्दा ब्राजीलको जर्सी लगाएर गत दुईवटा म्याच खेल्ने नसक्ने नेमारलाई दक्षिण कोरिया विरुद्ध म्याचमा फिट देखियो। उनले पेनल्टीबाट गोल पनि गरे। यसको साथै नेमार ब्राजीलको तर्फबाट सर्वाधिक गोल गर्ने मामिलामा पेलेको रेकर्डको नजिक पुगे। नेमारले राष्ट्रिय टीमबाट खेल्दै ७६ गोल गरिसकेका छन् अनि अहिले पेलेको रेकर्डदेखि केवल एक गोल पछि रहेका छन्।
स्टेडियम ९७४-मा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीलले शुरुदेखि नै एशियाई देशमाथि दबाउ सृष्टि गऱ्यो अनि म्याचको चारैवटा गोल हाफ टाइम अघि हासिल गऱ्यो। विनिसियस जूनियरले ब्राजीललाई सातौं मिनटमै बढ़त दिलाए। त्यसपछि कोरियाई खेलाड़ीले रिचार्लिसनलाई बक्सभित्र लड़ाउँदा ब्राजीललाई पेनल्टी प्राप्त भयो। त्यही पेनल्टीबाट गोल गरी नेमारले १३औं मिनटमा स्कोर २-० पुऱ्याए। ब्राजीलले मध्यान्तरअघि अझ दुईवटा गोल गऱ्यो। रिचार्लिसनले २९औं अनि लुकास पाक्वेटाले ३६औं मिनटमा गोल गरी ब्राजीललाई ४-०-ले अघि पार्नको साथै दक्षिण कोरियाई टोलीको मनोबललाई माटोमा मिलाए।
दोस्रो हाफको खेलमा एशियाई देशले सक्दो प्रयास गरे पनि म्याच बचाउन सकेन। दक्षिण कोरियालाई म्याचको एकमात्र गोल पाइक सेयुंग-हो-ले ७६औं मिनटमा दिलाए। सेयुंग-हो-ले लामो दूरीबाट दर्शनीय गोल गरे। दक्षिण कोरियाई टीमले २००२-मा सह-आयोजकको रूपमा सेमिफाइनल खेलेपछि पहिलोपल्ट प्री-क्वार्टर फाइनलको वाधा पार गर्ने प्रयास गरिरहेको थियो तर ब्राजीलले उनीहरूका सपना साकार हुन दिएन। ब्राजीलको टीमले क्वार्टर फाइनलमा क्रोएशियाको सामना गर्नेछ।