खरसाङ: खरसाङ कलेजमा राज्य सहायताप्राप्त प्राध्यापकका रूपमा कार्यरत् सपन प्रधानले उत्तर बङ्ग विश्वविद्यालयको प्रशासनिक निकाय रजिस्टार विभागबाट आधिकारिक रूपमा विद्यावारिधि (पिएचडी) को उपाधि प्राप्त गरेका छन्। उत्तर बङ्ग विश्वविद्यालयको कला, वाणिज्य अनि ऐन सङ्काय अन्तर्गत नेपाली विभागबाट वरिष्ठ प्रोफेसर डा. कृष्णराज घतानीको निर्देशनमा रही सपन प्रधानले ‘इन्द्रबहादुर राईका गद्याख्यानको लोक-सांस्कृतिक अध्ययन’ शीर्षकमा शोधकार्य पूर्ण गरेका हुन्। अप्पर फागु गोरुबथान निवासी स्व. रामबहादुर प्रधान अनि स्व गङ्गा प्रधानको कोखमा जन्मेका सपन प्रधान अप्पर फागु गोरुबथानका उपाधिप्राप्त पहिलो पिएचडी शोधार्थी हुन्। उनले आफु जन्मेकै पाठशालाबाट प्राथमिक तहको औपचारिक शिक्षा आर्जन गरेका थिए। दशौं श्रेणीसम्म गोरुबथानकै युद्धवीर उच्च विद्यालयमा अध्ययन पूरा गरेर एघारौँ र बाह्रौँ श्रेणी रामकृष्ण शिक्षा परिषद् बाल उच्च विद्यालय दार्जिलिङबाट उतीर्ण गरे। त्यसपछि दार्जिलिङ सरकारी महाविद्यालयबाट नेपाली विषयमा सम्मान गरे। त्यहाँबाट उनले कलेज टपर भई स्नातक तहको परीक्षा उतीर्ण गरे। यसै महाविद्यालयबाट स्नातकोत्तर तहको परीक्षामा उत्तर बङ्ग विश्वविद्यालयभरिमै स्वर्ण पदक हाँसिल गरेर पहिलो स्थानमा उतीर्ण गर्न सफल बनेका थिए। विद्यार्थी अवस्थामै बाबुआमा गुमाएका सपन प्रधानले आफ्नो मनोबल र कोसिसमा उच्च शिक्षालाई निरन्तरता दिँदै सिक्किम विश्वविद्यालयबाट वरिष्ठ प्रोफेसर प्रतापचन्द्र प्रधानको निर्देशनमा यौन मनोवैज्ञानिक सिद्धान्तमा आधारित एमफिल डिग्री पूर्ण गरेका थिए। यतिन्जेल सपन प्रधानले आफ्नो औपचारिक शिक्षालाई कायम राख्दै विद्यार्थी उमेरदेखि नै साहित्यप्रति रुचि देखाएर समालोचना विधामा निरन्तर कलम चलाउँदै विभिन्न पत्रपत्रिकाहरूमा लेख्न थाले। यसैको फलस्वरूप ‘कृति-कीर्ति’ नामक समीक्षात्मक सङ्ग्रह प्रकाशित गरेर साहित्यमा आफूलाई कृतिकारका रूपमा चिनाए। पछि यसै ‘कृति-कीर्ति’ पुस्तकबाट उनले युवा साहित्य अकादमी पुरस्कार २०१५ प्राप्त गरेका थिए। विद्यार्थी अवस्थादेखि आजसम्म उनले ‘प्रयत्न’ (सन् २००३), ‘लर्न’ (सन् २००५-२००६), ‘कञ्चनजङ्घा’ भित्ते पात्रो (सन् २००५-२००६), ‘हिमाल भित्ते पात्रो’ (सन् २००७-२००८), ‘प्रबुद्ध’ स्मारिका (सन् २०१२), हायमनदास राई ‘किरात’ अभिनन्दन ग्रन्थ (सन् २०१४), ‘अनुसन्धान’ (सन् २०१७) जस्ता विभिन्न पुस्तक र पत्र-पत्रिकाहरू सम्पादन र प्रकाशन गरेर साहित्यलाई योगदान गरेका छन्। यसबाहेक विद्यालय, महाविद्यालय र विश्वविद्यालय दूरशिक्षा र इग्नुका पाठ्य सामग्रीहरू पनि लेखिसकेका छन्। सपन प्रधान ‘समावेशी’ साहित्यिक समूहका एकजना कर्मठ अभियन्ता पनि हुन् भने नेपाली साहित्य संस्थान सिलगडीसित पनि उनको संलग्नता रहेको छ। समालोचनालाई आफ्नो लेखनको मुख्य विधा मान्ने सपन प्रधानले मनोवैज्ञानिक कथाहरू पनि लेख्दै आएका छन्। उनको साहित्यिक कर्मको फलस्वरूप सूचना एवं सांस्कृतिक विभाग, पश्चिम बङ्गाल सरकार, गोर्खा जन पुस्तकालय खरसाङ, हायमनदास राई किरात प्रतिष्ठान, गोरुबथान, साझा साहित्य़ संरक्षण संस्था, गोरुबथान, लङ्कु भ्याल्ली साहित्य समिति आदि विभिन्न साहित्यिक सङ्घ-संस्थाहरूले उनलाई सम्मानित पनि गरिसकेका छन्। शिक्षण क्षेत्रमा संलग्न सपन प्रधानले आफू अध्ययन गरेकै स्कूल रामकृष्ण शिक्षा परिषद् बाल उच्च विद्यालयबाट अंशकालिक रूपमा शिक्षण पेसा आरम्भ गरेका हुन्। त्यसपछि उनले साउथफिल्ड कलेज, सेन्ट जोसेफ्स् कलेज, कालिपदा घोष तराई महाविद्यालय बागडोग्रा र सिक्किम विश्वविद्यालय जस्ता प्रतिष्ठित शैक्षिक प्रतिष्ठानहरूमा अंशकालिक प्राध्यापकका रूपमा कार्य गरिसकेका छन्। हालमा उनी राज्य सहायताप्राप्त प्राध्यापकका रूपमा खरसाङ कलेजमा सेवारत् छन्।
शोधार्थी सपन प्रधानले आफूले इन्द्रबहादुर राईजस्ता दिग्गज साहित्यकारका आख्यानमा शोधकार्य सम्पन्न गर्न अवसर प्राप्त भएकोमा आफूलाई भाग्यशाली ठान्दै इन्द्रबहादुर राईका गद्याख्यानमा चित्रित नेपाली लोकजीवनपद्धतिबारे लोक-सांस्कृतिक दृष्टिले अध्ययन गर्ने काम भएको बताए। विशेष दार्जिलिङको नेपाली र अन्य जातिको जीवनपद्धति र प्रवृत्ति के कस्ता छन् त्यसबारे प्रकाश पार्ने काम भएकाले यहाँका लोकजीवन र तिनीहरूको मूल्यमान्यता, परम्परा र संस्कृतिलाई जान्न र ठम्याउन यस शोधकार्यले सहयोग गर्न सघाउ गर्दछ भन्ने आशा व्यक्त गरे। सारा संसारका मानिसहरूको लोकप्रवृत्तिमा केही न केही समानता रहेको दृष्टान्त यस शोधकार्यको प्राप्ति निष्कर्ष रहेको उनले बताए। उत्तर बङ्ग विश्वविद्यालय, नेपाली विभागले आफूलाई शोधकार्य गर्ने अवसर प्रदान गरेर यथासक्य सहयोग साथै उचित परामर्श र स्वस्थ परिवेश प्रदान गरिदिएकोमा विभागका सम्पूर्ण प्राध्यापकप्रति आभार प्रकट गरे भने विशेष शोध निर्देशक वरिष्ठ प्रोफेसर डा कृष्णराज घतानीको मार्ग निर्देशन, चोखो माया, साथ र अपार सहयोगले गर्दा नै शोधकार्यलाई पूर्ण गर्न सफल भएको बताउँदै आन्तरिक हृदयबाट आफ्नो निर्देशकप्रति धन्यवाद साथै कृतज्ञता प्रकट गरे। यस अतिरिक्त शोधकार्य गर्ने क्रममा सहृदयले सहयोग पुर्याउने सम्पूर्ण आदरणीय र मान्य विज्ञजन साथै परिवारप्रति ऋणी रहने उनले बताए।










