खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा दुईवटा स्थानमा सम्पन्न भएको छ। तीनधारे महानदी समष्टिको आयोजनामा पञ्चायत स्तरीय कमिटी गठनार्थ विभिन्न स्थानहरूमा सांगठनिक सभाहरू भईरहेको छ। तीनधारे महानदी समष्टिभित्र पर्ने चारवटै ग्राम पञ्चायतहरूमा भागोप्रमोको सांगठनिक सभाहरू सम्पन्न भईरहेको छ भने यसै क्रममा आज महानदी ग्राम पञ्चायत र घैयाबारी तीन ग्राम पञ्चायत क्षेत्रहरूलाई लिएर सभा सम्पन्न भएको छ। यस अन्तर्गत महानदी ग्राम पञ्चायतभित्र पर्ने सबै बुथहरूलाई लिएर घुम्ती चियाबारीको श्रमिक कल्याण भवनमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षता सभा सम्पन्न भएको छ। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत तीनभित्र पर्ने बुथहरूलाई लिएर घैयाबारीमा मानेडाँड़ास्थित सार्वजनिक भवनमा सांगठनिक सभा सम्पन्न भएको छ। दुवै सभाहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सदस्य सुजितकुमार कार्कीढोली, खरसाङ महकुमा समितिको सचिव एंव मनोनित सभासद प्रणाम रसाईली, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टी सचिव एवं तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, सचिव सञ्जीव मंगर, समष्टीको सांगठनिक सचिव उत्तम छेत्री, प्रवक्ता बिपन विश्वकर्म लगायत अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए।

दुवै सभाहरू विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टिभित्र पर्ने चारवटै ग्राम पञ्चायतहरूलाई पार्टीले सांगठनिक सभाहरू आयोजना गर्दै आईरहेको छ र यस अन्तर्गत आज महानदी ग्राम पञ्चायत र घैयाबारी तीन ग्राम पञ्चायतभित्र पर्ने सबै बुथहरू कमिटीहरूलाई लिएर घुम्ती कमान र घैयाबारीमा दुईवटा सांगठनिक सभा सम्पन्न भएको बताएका छन्। उनले सबै ग्राम पञ्चायतहरूमा चाढ़ै ग्राम पञ्चायत स्तरीय कमिटीहरू गठन गरिने जानकारी गराउँदै आगामी ८ दिसम्बरदेखि समष्टीको प्रत्येक बुथमा गएर सांगठनिक सभाहरू आयोजना गरिने र सबै बुथहरूमा संगठनको कमिटीहरू पनि गठन गरिने जानकारी गराएका छन्। सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको संगठन राम्रो र मजबुद रहेको बताउँदै गत जीटीए चुनावमा सबै बुथहरूमा जीत हाँसिल गरेको र आगामी चुनावमा पनि जित्ने आशा रहेको बताएका छन्।








