३ दिसम्बरः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा माखुम युनाइटेडले जीत हासिल गऱ्यो । कालीझोड़ा फूटबल मैदानमा शनिवार भएको म्याचमा माखुम युनाइटेडले एकता समिति, कालीझोड़ालाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सन्दीप राई र प्रेम लेप्चाले १-१ गोल गरे। यसरी नै एकता समितिबाट बिरेन प्रधानले गोल गरे। आइतवार खेलिने म्याचमा शक्ति संघ (कालीझोड़ा) र एनएफसी (सिटोंग)-बीच भिड़न्त हुनेछ। यसबाहेक भेटरन्स टुर्नामेण्टमा महानन्दा भेटरन्सले लाटपञ्चर भेटरन्सलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राकेश रोनाल्डले ह्याट्रिक गरे। लाटपञ्चर भेटरन्सबाट बिनोद बान्तावाले गोल गरे। ओपन टुर्नामेण्टमा जम्मा २८ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २७ र २८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।









