हाम्रो पार्टी त्यागेर २३० परिवारहरू भागोप्रमोमा सामेल

IMG-20221202-WA0148.jpg

भागोप्रमो सफल पार्टी हो र हाम्रोमा अरूको काममा चासो राखेर निन्दा गर्ने फुर्सद नै छैन: अनित थापा

दार्जिलिङ: केशव राज पोख्रेलको नेतृत्वमा रेलिङ कैजलेका हाम्रो पार्टीको २३० परिवारहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। दार्जिलिङको जर्ज बजारमा अवस्थित पार्टीको केन्द्रीय कार्यालयमा मिलन समारोह आयोजना गरेर २३० परिवारलाई पार्टीमा स्वागत गरियो। उनीहरूले हाम्रो पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। पार्टीमा सामेल हुनेहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा अनि अन्य पदाधिकारीहरूका बाहुलीबाट पार्टीको झण्डाहरू प्रदान गरी स्वागत जनाइएको छ। सामेल हुने परिवारहरुलाई पार्टीमा स्वागत जनाउँदै पार्टी अध्यक्ष अनित थापाले आफ्नो सम्बोधनमा भने, “सबैलाई हाम्रो परिवारमा स्वागत गर्दछु। भोट जीतेपछि, हार्ने पार्टीलाई दुःख दिने पहाडको राजनैतिक इतिहास रहेको थियो। त्यो दुःख दिने प्रथालाई हामीले तोडेका छौं। दुई बेग्ला बेग्लै राजनैतिक दलहरुलाई दुश्मन ठान्ने संस्कार आज पनि देख्दैछु। राजनैतिक दल अलग छ तर हामी जाति गोर्खा हौं। त्यसैले विपक्ष दललाई उत्पीडन गर्ने बीजीपिएमको राजनैतिक सोचमा पनि छैन अनि संस्कारमा पनि छैन। राजनीतिमा हार जीत हुन्छ। यो राजनीतिको एउटा सानो अंग मात्र हो। हामीसित जोडिनु आउनु हुनेलाई हामी सहृदय स्वागत जनाउँछौ।”
हाम्रो पार्टीबाट सभासद अनि नगरपार्षदहरु बीजीपीएममा सामेल भएको समय हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्सले अनित थापामाथि आक्षेपहरु लगाएका थिए। थापाले नेताको नाम नै नलिई ती आक्षेपहरुमाथि आफ्नो प्रतिक्रिया दिँदै भने, “पहाडमा अहिले नेता किन्ने अनि बेच्ने प्रथा पसेको छैन। बीजीपीएमलाई छोडेर जाने थुप्रै नेताहरु थिए। तर कुनै दिन फलानाले किन्यो भनेनौं। मेरो कार्यप्रणाली मन परेन होला, त्यसैले छोडेर गए। मेरो गल्ती थियो होला, त्यसैले गए भनेर सोचे। मैले कहिले पनि मेरो कार्यकर्ता ५ लाखमा बिक्यो, फ्ल्याँटमा बिक्यो भनिन। मलाई छोडेर जानेहरू फेरि फर्केर हामीसँग जोडिन आउँदैछन्।”
उनले अघि भने, “जो सफल हुँदै जान्छ उसको अर्काको दुर्गुण देख्ने अनि निन्दा गर्ने फुर्सद नै हुँदैन। तर जाे असफल हुन्छन्, उन्नति गर्नु सक्दैनन् उसको काम अरूको दुर्गुण देखाउनु, निन्दा गर्नु मात्र हुन्छ। बीजीपीएम सफल पार्टी हो। हाम्रोमा अरूको काममा चासो राखेर निन्दा गर्ने फुर्सद नै छैन अनि जसले हाम्रो निन्दा गर्दैछन उनीहरूलाई ईश्वरले सदबुद्धि दिऊन्।”

थापाले अझ भने, मेरो आलोचना कसैले पनि गर्नु सक्छन् तर मेरो आलोचना गर्ने मेरै दाज्यु-भाइ हुन्। उसको पुत्ला जलाउन ठीक होइन।”
गोर्खाल्याण्डको चर्चा पहाडमा फेरि चल्नु थालेको छ। चर्चा चलाउने नेताहरुमाथि प्रहार गर्दै उनले भने, “पहाडमा अर्को चलन के छ भने, जब नेता राजनैतिक रूपले हार्नु थाल्छ अनि असफल बन्दै जान्छ तब उसले फेरि गोर्खाल्याण्डको नारा लगाउनु थाल्छ। गोर्खाल्याण्डको चारो छरे मान्छे डल्लो पर्छ भन्ने सोच अब पहाडमा चल्दैन। त्यस्तो दिन गयो। गोर्खाल्याण्ड दार्जीलिङलाई मात्र चाहिएको होइन तर भारतभरि छरिएर बसेका गोर्खाहरूलाई चाहिएको हो। सही ढंगले माग्नुपर्छ। पहाडमा अशान्ति गरेर गोर्खाल्याण्ड हुँदैन।”
उनले आफूहरुले पहाडमा शान्ति स्थापना गरेको सत्यलाई कसैले नकार्न सक्दैन भन्दै भने, “हामीले शान्ति के हो भनेर देखाई दियौ। शान्ति हुँदा इस्कुस सम्म त बेच्नु पाउनु भयो। नत्र भने फलेको इस्कुस सम्म बेच्नु नपाएको घटनाहरू छन्। शान्ति हुँदा विद्यार्थीले पढ्नु पायो, युवाले रोजगार गर्नु पायो, अनि आजकल सबैले आफ्नै किसिमको राजनीति गर्नु पाउँदैछ।” उनले झुटको राजनीतिदेखि जनता सजग बस्नु पर्छ भन्दै भने, “पहाडमा झुटको राजनैतिक खेती बेसी नै भयो। बङ्गालको नेता अनि मन्त्रीले पहाडमा आएर कुनै दिन ढाँटेको छ? हामीलाई हेप्नु खोजेको छ? ढाँट्ने त हाम्रै पाहाडको नेताहरु हुन।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement