२९ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा आठेरोखाई सरोजनी संघले सेमिफाइनलमा खेल्ने सम्भावनालाई जीवित राख्यो। कञ्चनजंघा स्टेडियममा मंगलवार भएको म्याचमा आठेरोखाई सरोजनी संघले सिलगढ़ी उल्का क्लबलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट असित हेम्बरमले ६२औं र ७२औं मिनटमा २ गोल गरे। यसबाहेक शुभंकर रोयले ५१औं र दिपेश मुर्मुले ८८औं मिनटमा गोल गरे। यसरी नै सिलगढ़ी उल्का क्लबबाट सुकराज सुब्बाले ४९औं मिनट अनि मानस सरकारले स्टपेज टाइममा गोल गरे। विजेता टीमका सञ्जीव मण्डललाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने म्याचमा बान्धव संघ र सिलगढ़ी किशोर संघबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।