२८ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा महानन्दा स्पोर्टिंग क्लबले लगातार तेस्रो जीतको साथ सेमिफाइनलमा स्थान बनायो। कञ्चनजंघा स्टेडियममा सोमवार भएको रोमाञ्चक म्याचमा महानन्दा स्पोर्टिंग क्लबले विधान स्पोर्टिंग क्लब (बीएससी)-लाई १-०-ले पराजित गऱ्यो। विधान स्पोर्टिंग क्लबका डिफेण्डर अनिर्बान मान्नाले ७५औं मिनटमा आफ्नै नेटमा गोली हाल्दा (आत्मघाती गोल) महानन्दा स्पोर्टिंग क्लब विजयी भयो। म्याच हारे पनि विधान स्पोर्टिंग क्लबका फरवर्ड सुब्रत मल्लिकलाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने म्याचमा सिलगढ़ी उल्का क्लब र आठेरोखाई सरोजनी संघबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










