जलपाइगढी: कङ्ग्रेस समर्थकहरूले १०० दिनको कामको बकाय भुक्तान, गाउँ संसदको बैठक नगरी कागजातमा हस्ताक्षर गर्ने लगायत विभिन्न मागहरूलाई लिएर आज विरोध प्रदर्शन गऱ्यो। सोमबार जलपाइगढी सदर ब्लकको बोलमारी नन्दनपुर ग्राम पञ्चायतका मानिसहरू राष्ट्रिय कङ्ग्रेसको ब्यानरमा भेला भएर सदर बीडीओ कार्यालय अगाडि विरोध प्रदर्शन गरे पछि कङ्ग्रेस नेताहरूले आफ्ना मागहरूबारे बीडीओलाई ज्ञापनपत्र दिए। विरोध प्रदर्शनमा जिल्ला कङ्ग्रेस सभापति पिनाकी सेनगुप्तालगायत वरिष्ठ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। कङ्ग्रेस नेताहरुले ग्राम संसदको बैठक नै नगरी कागजपत्रमा हस्ताक्षर गरेर जनतालाई समस्यामा पारेको बताए।










