नासाको ओरियन अन्तरिक्ष यानले चन्द्रमाको सबैभन्दा नजिकको फोटो खिचेको छ। यसलाई हालै नासाले आफ्नो सबैभन्दा शक्तिशाली रकेट ‘स्पेस लन्च सिस्टम’ मार्फत चन्द्रमाको परिक्रमा गर्न पठाएको हो। यो आर्टेमिस–१ मिसनको एक हिस्सा हो, नासाको मानवयुक्त चन्द्र अभियान ‘आर्टेमिस’ को पहिलो चरण हो। चन्द्रमाको ४ वटा क्षेत्रको तस्वीर पठाइएको छ। चन्द्रमाको तस्वीर ओरियनको अप्टिकल नेभिगेसन प्रणालीद्धारा खिचिएको हो। नासाको इन्स्टाग्राम पोस्टका अनुसार यो प्रणालीले विभिन्न दूरी र स्थानबाट पृथ्वी र चन्द्रमाको तस्वीर खिच्छ। यी तस्वीर रंगीन छैनन्। पोस्टमा चन्द्रमाका ४ वटा क्षेत्रका तस्वीर सेयर गरिएको छ। यो १९७५ मा अपोलो मिसन समाप्त भएपछि चन्द्रमाको सबैभन्दा नजिकका फोटोहरू हुन्। समाचारअनुसार ओरियन क्याप्सुलले आर्टेमिस–१ मिसन अन्तर्गत चन्द्रमाको परिक्रमा गर्नेछ, तर सतहमा अवतरण गर्नेछैन। सन् २०२५ वा २०२६ मा मानिसले फेरि चन्द्रमामा पाइला राख्ने विश्वास गरिएको छ।
नासाको आर्टेमिस–१ फ्ल्यागशिप मिसनको लागि परीक्षण उडान हो। यसले चन्द्रमाको नजिक गएर अन्तरिक्ष एजेन्सीको पुरानो मिसन अपोलोको सम्झना दिलाउँछ। पोष्टमा नासाले ओरियन स्पेसक्राफ्ट अपोलो ११, १२ र १४ मिसनका अवतरण स्थलहरू नजिकैबाट गुज्रिएको बताएको छ। ५० वर्षमा पहिलो पटक स्पेस क्याप्सुलले चन्द्रमाको परिक्रमा गरिरहेको छ। हाल यसमा कुनै पनि अन्तरिक्ष यात्री पठाइएको छैन। यो मिसन २५ दिन ११ घण्टा ३६ मिनेटको छ, त्यसपछि डिसेम्बर ११ मा प्रशान्त महासागरमा खस्नेछ। अन्तरिक्ष यानले कुल २० लाख ९२ हजार १४७ किलोमिटरको दूरी तय गर्ने जनाइएको छ। अमेरिकाले ५३ वर्षपछि फेरि आर्टेमिस मिसनमार्फत चन्द्रमामा मानिस पठाउने तयारी गरेको छ। यसलाई तीन भागमा विभाजन गरिएको छ, जुन आर्टेमिस–१, २ र ३ हुन्। आर्टेमिस–१ को रकेट चन्द्रमाको कक्षमा जानेछ, केही साना उपग्रहहरू छोड्नेछ र त्यसपछि आफैं कक्षमा स्थापित हुनेछ।
सन् २०२४ मा आर्टिमिस–२ लन्च गर्ने तयारी छ। केही अन्तरिक्ष यात्री पनि यसमा जानेछन् तर चन्द्रमामा पाइला राख्ने छैनन्। उनीहरु चन्द्रमाको कक्षमा घुमेर फर्किनेछन्। यो मिसनको अवधि लामो हुने जानकारी दिइएको छ। त्यसपछि, अन्तिम मिसन आर्टेमिस–३ पठाइनेछ। यसमा जाने अन्तरिक्ष यात्रीहरू चन्द्रमामा अवतरण गर्नेछन्। यो मिसन २०२५ वा २०२६ मा सुरु गर्ने तयारी हुँदैछ। पहिलो पटक महिलाहरु पनि मानव चन्द्र अभियानको हिस्सा बन्ने छन्। यसमा पर्सन अफ कलर (सेतोभन्दा फरक जातको व्यक्ति) पनि चालक दलका सदस्य हुनेछन्। अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको पानी र बरफमा अनुसन्धान गर्नेछन्।










