२७ नोभेम्बरः युनाइटेड मञ्जु फूटबल क्लबको तत्त्वावधानमा आयोजित मणि खवास स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार तोस्रो क्वार्टर फाइनल म्याच खेलियो। मञ्जु खेल मैदानमा आज भएको म्याचमा भोला सेभेन (सिंगबुली)-ले महाकाली सेभेनलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा भोला सेभेनबाट सञ्जु र महाकाली सेभेनबाट बिदुर छेत्रीले गोल गरे। आजको म्याचमा मुख्य अतिथिको रूपमा समाजसेवी महेश सुब्बा उपस्थित थिए। अब ४ दिसम्बरको दिन खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनलमा बुङकुलुंग एफसी र लालीगुराँस स्पोर्टिंग क्लब (खोप्रेल)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १८ दिसम्बरमा खेलिनेछ। फाइनलको तारिख चाहिँ आयोजक समितिले घोषणा गरेको छैन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









