खरसाङ: सालबारीस्थित सयपत्री सङ्घ भवनमा शब्द समयको ११२औं प्रकरण सम्पन्न भयो। यस प्रकरण वरिष्ठ साहित्यकार भविलाल लामिछानेको सम्बोधनसित आरम्भ भयो। उनले आफ्नो सम्बोधनमा आफू डिगबोयमा हुँदा विशिष्ट साहित्यकार नरबहादुर दाहालसितको पहिलो भेटको रोचक संस्मरण बताए। वरिष्ठ कवि भविलाल लामिछानेले आफ्ना उद्गारपछि स्वरचित कविता पनि पठन गरेर सुनाए। यस प्रकरणमा विशेष आकर्षण रहेको थियो अध्येता हेमन्त सुब्बाबाट आजको चर्चित उपन्यास नूनको चिया (मूल बंगला लेखक विमल लामा अनि नेपाली अनुवाद शमीक चक्रवर्ती)-माथि गहन पाठकीय मन्तव्य। उनले कृतिलाई विभिन्न कोणबाट हेरेर आफ्ना कुरा राखे। उनले यस कृतिलाई अङ्ग्रेजीमा पनि अनुवाद हुनु आवश्यक छ भनी बताए। अध्येता-कवि ज्ञानेन्द्र खतिवड़ाले कृतिमाथि राखिएको पाठकीय मन्तव्यमाथि आफ्नो अध्ययनको आधारमा अरू आलोचनात्मक टिप्पणीहरू राखे। यस प्रकरणमा आफ्ना स्वरचित कृति पठन गर्ने साहित्यकारहरू थिए वरिष्ठ कवि मोहन ठकुरी, युग्मककार कालूसिंह रनपहेंली, कथाकार पीटी योल्मो, आख्यानकार बबिता मादेन, कवि देविका म॔ग्राती राई, कवि लीलबहादुर सुनार,अप्रा कप्तान महेश कुमार सुब्बा अनि कवि-गजलगो विमल खतिवड़ा माइला। यस अवसरमा कथाकार-उपन्यासकार मणिकुमार प्रधानले आफ्ना बुकुने कथा सुनाए भने कथाकार- अनुवादक जीतबहादुर सुनारले कथाकार भविलाल लामिछानेको हालै प्रकाशित चर्चित कथा सङ्ग्रह ‘अर्धासत्य’-माथि आलोचनात्मक टिप्पणीहरू राखेका थिए। कार्यक्रमलाई वरिष्ठ कवि-कथाकार-अनुवादक खड़गराज गिरीले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रसिद्ध चलचित्र अभिनेता टंक शर्मा, वरिष्ठ साहित्यकार डीएस बम्जन, वरिष्ठ लेखक राजेन शिवाकोटि, पत्रकार शैलेन्द्र समदर्शी, कवि कविता अधिकारी, वरिष्ठ समाजसेवी पूर्ण म॔गर आदिको विशेष उपस्थिति रहेको थियो।









