रिनाक: स्थानीय रिनाक स्थित डोनाल्ड मेमोरियल अकादेमी रिनाकको खेलमैदानमा आज वार्षिक खेलकुद उत्सव एवं खेलकुद प्रतियोगिता सम्पन्न गरियो। सिक्किम सरकारका सिक्किम राज्य उपभोक्ता सहकारी समिति (एससीसीएस) का अध्यक्ष सन्तोष कुमार प्रधानको मुख्य आतिथ्यमा सम्पन्न समारोहमा विशिष्ठ अतिथिको रूपमा रूङदुङ वार्डकी पंचायत सदस्य दिर्ग माया छेत्रीसहित विशेष अतिथिहरूमा सहायक अभियन्ता रिनाक बीएसी सागर प्रधान, पत्रकार भानुराज थापा, शिक्षक धिरेन दास सहित पूर्व पंचायत नारायण प्रधान, सुदुङलाखाका पंचायत डिल्लीराम प्रधान रहेका थिए भने अन्य आमन्त्रितगण, अभिभावक, प्रधानाचार्य, शिक्षक-शिक्षिका, विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो।
मुख्य अतिथिको रूपमा बोल्दै सन्तोष कुमार प्रधानले वैश्विक महामारी कालपछि स्कूलले आयोजन गरेको समारोह सराहनीय रहेको बताउँदै खास सम्पत्ति भनेको नानीहरू हुन्, हामीले विद्यार्थी नानीहरूलाई प्रोत्साहित गर्नुपर्ने मनशाय राखे। स-साना नानीहरूद्वारा स्वागत नृत्यबाट शुरू भएको कार्यक्रममा विद्यार्थीहरूले मनमोहक नृत्यहरूसहित जुम्बा, राइम्स आदि प्रस्तुत गरे भने विद्यार्थीहरूमाझ विभिन्न खेलकुद पनि राखिएको थियो साथै अभिभावकमाझ पासिङ द बालको खुल्ला प्रतियोगिता आयोजन गरियो।
कार्यक्रममा प्रधानाचार्यद्वारा अतिथिगणप्रति स्मृति चिन्ह भेट गरियो अनि स्कूल प्रबन्धन समिति (एसएमसी) र स्कूलको तर्फबाट अभिनन्दन पत्रद्वारा सम्मान प्रकट गरियो साथै एसएमसी ले स्कूलका सबै शिक्षक-शिक्षिकाप्रति कृतज्ञता स्वरूप उपहार प्रदान गरिएको थियो। यस्तै प्रकारले प्रतिभा कला केन्द्र नृत्य संस्थानका नृत्यकार पूर्ण राईले संस्थानको परिचयात्मक वक्तव्य राखे भने शिक्षक आमोश लिम्बुले सिक्किमको राष्ट्र गान गाएर सुनाए।
अन्त्यमा पारितोषिक वितरणसंगै स्कूलले आफ्नो कोषको निम्ति राखेको चिट्ठा खेल (Raffle) को परिणाम घोषणा गरे, जसमा प्रथम पुरस्कार डीआर प्रधान तारपिन, द्वितीय पुरस्कार सुबोध प्रसाद, तृतीय पुरस्कार दीपेन्द्र खनाल सिलगढ़ीले प्राप्त गरे भने सान्त्वना पुरस्कारहरू क्रमैले अञ्जना छेत्री तारपिन, मनोज रसाईली रेसी अनि राजेन प्रधान रिनाक बजारले प्राप्त गरे।








