नाम्ची:: दक्षिण जिल्लाको नाम्चीस्थित जिल्ला भवनमा उत्पादन निर्माण प्रदर्शन तथा तालिममाथि दुई दिने सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रमको आयोजना एमएसएमई वाणिज्य र उद्योग विभाग, सिक्किम सरकार, सीएलआरआई (केन्द्रीय छाला अनुसन्धान संस्थान), चेन्नई, भारत सरकारको संयुक्त पहलमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा कृषक कल्याण बोर्डका अध्यक्ष फुर्देन लेप्चा, विशेष अतिथि अनन्त जैन लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सहभागीहरुलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल जैनले छाला तथा गैर छालाजन्य उत्पादनमा रूचि राख्दै यसलाई व्यवसायमा परिणत गर्न आग्रह गरे। छालाका सामानको व्यवसायबाट ठूलो नाफा हुने उनको भनाइ रहेको थियो। यसरी नै कृषक कल्याण बोर्डले विभिन्न स्वयंसहायता समूहका सदस्यहरूलाई गाउँ तहमा लघुउद्योग स्थापना गर्न आग्रह गर्दै निकट भविष्यमा सदस्यहरूलाई तालिम दिन आफ्नो सहयोग गर्ने आश्वासन पनि दिए। यस अवसरमा कूल २९ जनाले सहभागिता जनाएका थिए।








