चोरी गरेको केही घण्टामै भेटियो बोलेरा
सिलगढी: सिलगढी महानगरीय प्रहरी अन्तर्गत प्रधान नगर थानाको पुलिसले शुक्रबार दार्जिलिङ मोड एन्क्लेभ क्षेत्रबाट मोहन चौधरी नामका एक व्यक्तिलाई २८ किलो गाँजासहित पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार अभियुक्तले ट्रली झोलामा गाँजा भरेर सिलगढी सहर वा आसपासका क्षेत्रमा तस्करी गर्ने योजना बनाएका थिए। त्यसैले गोप्य सूचना पाएलगत्तै प्रधाननगर प्रहरी चौकीले अभियान चलाएर अभियुक्तलाई पक्राउ गरेको हो। बरामद गांजाको बजार मूल्य १० लाख रुपियाँ भन्दा बढी रहेको प्रहरीले जनाएको छ।एनडीपीएस ऐन अन्तर्गत आरोपीलाई शनिबार सिलगढी अदालतमा पेश गरिएको छ। अर्कोतर्फ सिलगढी महानगरीय प्रहरीलाई प्रधान नगर थाना क्षेत्रबाट चोरी भएको गाडीको अनुसन्धानमा ठूलो सफलता हात लागेको छ। समर नगर क्षेत्रबाट बोलेरो चोरी भएको भन्दै प्रधाननगर प्रहरी चौकीमा उजुरी परेको बताइएको छ। उजुरी दर्ता भएको केही घण्टामै प्रहरीले चोरीको गाडी बरामद गरेको छ। प्रधाननगर प्रहरी थानाले खोरीबारी प्रहरी चौकीको सहयोगमा समरनगर क्षेत्रबाट चोरी भएको बोलेरो बरामद गरेको हो। सिलगढीका पुलिस उपायुक्त कुँवर भूषण सिंहले पत्रकार सम्मेलनमा यो जानकारी दिए। डिसीपीले गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा कार चोरी गरी खोरीबारीबाट नेपाल हुँदै बिहार पठाउने योजना रहेको थाहा पाएको बताए। त्यसपछि प्रधाननगर प्रहरी चौकीले खोरीबारी प्रहरी चौकीमा सम्पर्क गरी चोरीको कार बरामद गर्न संयुक्त अभियान चलाएको भए पनि घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन। तर, धेरै सूचनाका आधारमा चोरको खोजी भइरहेको छ। प्रधाननगर प्रहरी थाना अपराध शाखाका प्रहरी अधिकृत तरुण कान्ति घोष र असित सिंहको पहल र मिहिनेतले चोरीको कार बरामद गर्न सफल भएको डिसीपी कुँवर भुषण सिंहले बताए।









