२५ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा शुक्रवार दोस्रो सेमिफाइनल म्याच खेलियो । माझीधुरा खेल मैदानमा भएको म्याचमा चुंगथुंग युनाइटेडले तरुण खेलकुद संघ (दार्जीलिङ)-लाई २-१-ले पराजित गऱ्यो। चुंगथुंग युनाइटेडबाट स्वदीप र उज्जवले गोल गरे। यसरी नै तरुण खेलकुद संघबाट नवांगले गोल गरे। आज म्याचमा पराजित हुने तरुण खेलकुद संघलाई मुख्य अतिथिको रूपमा उपस्थित सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका महासचिव सुरेन प्रधानको बाहुलीबाट ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। अब २७ नोभेम्बर (आइतवार)-को दिन खेलिने फाइनलमा चुंगथुंग युनाइटेड र स्वतन्त्रता सेनानी गागा छिरिंग डुक्पा डिग्री कलेज (सुकिया पोखरी)-बीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजक माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लबका अध्यक्ष अर्जुन तामाङ र सचिव सोनम तामाङले खेलप्रेमीहरूलाई फाइनलको दिन मैदानमा उपस्थित रहेर खेलको आनन्द लिने आह्वान गरेका छन्।










