गान्तोक: कृषि मन्त्री लोकनाथ शर्माले आज ओमचुङ ग्राम पञ्चायत इकाईको भ्रमण गरे। भ्रमणको क्रममा मन्त्री शर्मासँग जिल्ला पञ्चायत सागर शर्मा, विभिन्न वार्डका पञ्चायत सदस्य, पदाधिकारी तथा युवाहरु सामेल रहेका थिए। सर्वप्रथम उनले मिडलमओमचुङमा प्रस्तावित सद्भाव मण्डप स्थलको निरीक्षण गरे। त्यसपछि उनले विद्यालय भवनको थप पूर्वाधारको कार्य प्रगतिबारे जानकारी लिन मिडल गेजिङ माध्यमिक विद्यालयको भ्रमण गरेका थिए। यस अवसरमा मन्त्री शर्माले अभियन्ता सेल/शिक्षा विभागका वरिष्ठ अधिकारीहरूसँग कुरा गर्दै विद्यालय निर्माणको थाँतीमा रहेको काम साथै अन्य समस्या समाधान गर्न र माथिल्लो कक्षाका विद्यार्थीहरूलाई समायोजन गर्न आवश्यक व्यवस्था गर्ने आग्रह गरे। सम्वन्धित निकायका अधिकारीहरुले तत्काल निर्माण कार्य सुचारु गर्नुपर्ने उनले निर्देश दिएका छन्। यस अवसरमा उनले विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै उनीहरुको रुचि अनुसारको क्षेत्रमा सीप विकास गर्न प्रोत्साहन समेत गरे।









