२४ नोभेम्बरः सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा रेड हर्स, इलाम (नेपाल)-ले क्वार्टर फाइनलमा स्थान बनायो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा बिहीवार भएको म्याचमा रेड हर्सले यूएफसी बुङकुलुंगलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका हरी सितौलालाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा २० वटा टीमले भाग लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ र १८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल २५ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।