गेजिङ: गेजिङ स्वस्थ विभागका टोलीले आज गेजिङ बजारमा अनाधिकृत तम्बाकू उत्पादहरूको बिक्री बन्द हेतु निरीक्षण भ्रमण गऱ्यो। टोलीको अगुवाइ स्वच्छता प्रकोष्ठका उप निदेशक रिन्जिङ भोटिया र नोडल अधिकारी डा. उत्तम प्रधानले गरेको थियो। उप निदेशक भोटियाले पसलेहरूलाई अनाधिकृत उत्पादहरू बिक्री नगर्न अपील गरे। उनले १८ वर्षभन्दा कम उमेरका नानीहरूलाई तम्बाकू उत्पादहरू बिक्री नगरीदिने र यदि कानून उल्लंघन गरेको खण्डमा सिगरेट र अन्य तम्बाकू उत्पाद ऐन, २००३ र जुभिनायल जस्टिस एक्ट, २०१५ अन्तर्गत सजायका प्रावधानहरूबारे सतर्क गराए। ट्याक्सी ड्राइभर एसोसिएशन अफ् गेजिङलाई तम्बाकू मुक्त अभ्यास अपनाउन र सिण्डिकेटलाई तम्बाकू मुक्त क्षेत्र घोषित गर्न सुझाउ राखे। निरीक्षण टोलीले खुल्ला सिगरेट, तम्बाकू उत्पादहरू जफत गर्नुका साथै सार्वजनिक स्थलहरूमा धुम्रपान गर्नेहरू विरूद्ध फाइन लगाए। टोलीले बजारको निरीक्षण नियमित रूपमा गरिने बताएको छ।










