दोस्रो मन्त्री गोल्डकप कालेबुङ युनाइटेड ब्रदर्सको झोलीमा

IMG-20221123-WA0219.jpg

सोरेङ: दोस्रो मन्त्री गोल्डकप फुटबल टुर्नामेन्टको च्याम्पियन युनाइटेड ब्रदर्स कालेबुङ बनेको छ। आज सोमबारे खेलमैदानमा सम्पन्न फाइनल खेलको भीडन्तमा कालेबुङले सिङलिङ स्पोर्ट्स क्लबलाई एक गोलको विरुद्ध दुई गोलेले पराजित गरि च्याम्पियन बनेको हो। खेल शुरु भएको १५औं मिनेटमा युनाइटेड ब्रदर्स् कालेबुङका खेलाडी बसन्त राई (२)-ले खुबै चाखलाग्दो गरेर कालेबुङलाई अग्रता दिलाए। खेलको ३३औं मिनेटमा कालेबुङका डिफेन्डर सुनिल मग्राती (४)-ले फ्रिकिकलाई हेडिङको सहायताद्घारा आकर्षक गोल गर्दै पहिलो हाफको खेलमा कालेबुङलाई दुई गोलको अग्रता दिलाउन सफल बन्यो।

दोस्रो हाफको खेलमा सिङलिङ स्पोर्टिङ क्लबले जोडदार वापसी गर्दै सिललिङका खेलाडी नारायण छेत्री (१६)-ले स्वादिलो गोल गरेर खेल पुन: एकपल्ट रोमाञ्चक स्थितिमा ल्याए। तर आखिरमा जीत कालेबुङको भयो।

आज खेलिएको दोस्रो मन्त्री गोल्डकप टुर्नामेन्टको विजेता टिमलाई पाँच लाख र उपविजेता टिमलाई तीन लाख रुपियाँसहित आकर्षक ट्रफी पनि टुर्नामेन्टका आयोजक दरमदिन खेलकुद संघले मुख्य अतिथि र विशिष्ट अतिथिको हातबाट प्रदान गरियो। टुर्नामेन्टका उत्कृष्ट खेलाडी सिङलिङका तान्छो हाङ सुब्बा भने फाइनलमा उत्कृष्ट खेलाडी कालेबुङका बसन्त राई बने। यसरी नै उत्कृष्ट गोलकिपर सिङलिङका प्रणव सुब्बा र प्रमोजिङ खेलाडी सिङलिङकै सुजन सुब्बा बने।

दरमदिन खेलकुद संघद्घारा आयोजित दोस्रो मन्त्री स्वर्ण कप फुटबल टुर्नामेन्टको समापन कार्यक्रममा भवन तथा आवास विभागका मन्त्री सञ्जित खरेल मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस अतिरिक्त क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा, स्टेट बैंक अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ, सिक्किम राज्य व्यापार निगमका सल्लाहकार निमतेम्बा भोटिया, पूर्वमन्त्री रण बहादुर सुब्बा, पूर्व विधायक डीएन शेर्पा, नवनिर्वाचित जिल्ला र ग्राम पञ्चायतगण, सरकारी अधिकारीगण, विभिन्न शैक्षिक संस्थानका प्रमुख, सेवानिवृत्त वरिष्ठ सरकारी अधिकारीगण, नागरिक समाज र संघ-संस्थानका प्रतिनिधिगण, विद्यार्थीगण, दरमदिन खेलकुद संघका अध्यक्ष लाखहाङ सुब्बासहित सम्पूर्ण कार्यकरणी समिति, साँस्कृतिक टोली र खेलप्रेमि दर्शकहरुको बाक्लो उपस्थिति थियो।

About Author

Advertisement