सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको मतिगढा थाना पुलिसले कन्स्टेबल पदको लिखित परीक्षामा नकली परीक्षार्थीहरूले परीक्षा दिएको मामिलामा इटाहारबाट लिङ्क म्यानलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति राजा बसाकको रुपमा चिन्हित गरिएको छ। आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो।
उल्लेखनीय छ, पश्चिम बंगाल पुलिस रिक्रुटमेन्ट बोर्डको तर्फबाट गत २२ मईको दिन कन्स्टेबल पदको लागि लिखित परीक्षा सम्पन्न भएको थियो। उक्त परीक्षा अवधि असली परीक्षार्थीको ठाउँमा नकली परीक्षार्थीहरूले परीक्षा दिइरहेको आरोपमा सिलगढी मेट्रोपोलिटन पुलिसले १५ जना नक्ली परीक्षार्थीलाई पक्राउ गरेको थियो। पक्राउ परेका १५ जना आरोपीलाई पुलिस रिमाण्डमा लिएर सोधखोज गर्दा राजा बसाकको नाम अघि आएको थियो। यसपछि मतिगढा थाना पुलिसले इटाहार पुगेर राजा बसाकलाई पक्राउ गरेर सिलगढी ल्याएपछि आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। अदालतले आरोपी राजा बसाकलाई पाँच दिनको पुलिस रिमाण्डमा पठाएको छ।









