दार्जिलिङ: पहाडमा पञ्चायत चुनाउको मिति अहिले नै घोषणा नभए तापनि यसलाई लिएर माहौल गमओ रहेको छ। हालै राज्य विधान सभामा पञ्चायत चुनाउ अनि यसमा जनप्रतिनिधिको अनुपात विषयलाई लिएर पारित गरिएको संशोधन विषयलाई लिएर हाल पहाडको केही राजनीतिक पार्टी लगायत गैर राजनीतिक संघ- संस्थानहरूले पनि आपत्ति जनाइरहेको छ। आज गोर्खा जनमुक्ति दार्जिलिङ मोर्चा टाउन कमिटीको अध्यक्ष सोभित राईले दार्जिलङस्थित पार्टी कार्यालयमा प्रेस भेलालाई सम्बोधन गर्दै पहाडमा सम्पन्न हुने पञ्चायात चुनाउको सन्दर्भमा आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। हालेेै राज्यद्वारा संशोधित पञ्चयात विधेयक बारेमा बोल्दै तिनले पत्रकारहरूलाई भने, पहाडमा एउटा ग्राम पञ्चायत सदस्यको निम्ति सात सय मतदाता अनिवार्य गरिनु भनेको यो सरासर ग्रामीण मतदाताहरुको निम्ति अन्याय हो। पहिले पञ्चायत चुनाउ हुँदा एक ग्राम पञ्चायत सदस्यलाई २५० मतदातालाई सेवा पुऱ्याउन हम्मे हम्मे पर्थ्यो भने अहिले झन बढाएर ७०० पुर्याउँदा यसले पञ्चायत व्यवस्थापन नै अस्थिर हुने आशंका तिनले व्यक्त गरेका छन्। समय अनुसार मतदाता संख्या बढाउन अनिवार्य हो तथापि २५० देखि सोझे ७०० मतदाताहरु पुर्याउन भने नहुने बताउँदै कमसेकम ४०० मतदातासम्म ठीकै थियो तर एउटा ग्राम पञ्चायत सदस्यको निम्ति ७०० मतदाता अनिवार्य गराउने बिषयलाई गोजमुमो-ले अस्वीकार गर्नेछ भनि तिनले बताए।










