२२ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शुभम सेभेनले टाईब्रेकरमा रोमाञ्चक जीतको साथ सेमिफाइनलमा प्रवेश गऱ्यो । गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी रहेको यस टुर्नामेण्टअन्तर्गत मगरटोला ग्राउण्डमा सोमवार खेलिएको म्याचमा शुभम सेभेनले हर्क एफसी, मारापुरलाई टाईब्रेकरमा २-०-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा हर्क एफसी-बाट विशाल दर्जी र नीरज कार्कीले १-१ गोल गरे। यसरी नै शुभम सेभेनबाट सुभाष तामाङले २ गोल गरे। शुभम सेभेनका सुभाष तामाङलाई प्लेयर अफ द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा आकाश गहतराजले जानकारी दिएका छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २२ र २३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा हुनेछ।









