२१ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा सोमवार दोस्रो क्वार्टर फाइनल म्याच खेलियो । माझीधुरा खेल मैदानमा भएको म्याचमा चुंगथुंग युनाइटेडले तकभर एफसीलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रशान्तले २ गोल गरे। यसबाहेक मेण्डिस र अमनले १-१ गोल गरे। यसरी नै तकभर एफसी-बाट निकेत र एडोनले १-१ गोल गरे। मंगलवार खेलिने तेस्रो क्वार्टर फाइनलमा घूम जोरबंग्लो स्पोर्टिंग क्लब र युनाइटेड रंगबूल स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।