२० नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा यंग मेन्स एसोसिएशन (वाईएमए)-ले लगातार दोस्रो जीत हासिल गऱ्यो। कञ्चनजंघा स्टेडियममा आइतवार भएको म्याचमा वाईएमए-ले बिधान स्पोर्टिंग क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट टेम्पो लेण्डुप भूटियाले ५५औं र ८८औं मिनटमा २ गोल गरे। यसबाहेक एक गोल प्रवीण सुब्बाले ९०औं मिनटमा गरे। वाईएमए-का मीडफिल्डर आदर्श तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार खेलिने म्याचमा महानन्दा स्पोर्टिंग क्लब र सिलगढ़ी किशोर संघबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। थर्ड प्लेस प्ले अफ् म्याच १० दिसम्बरमा खेलिनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










