गान्तोक: गत १०-देखि १६ नोभेम्बरसम्म मेघालयको शिलङमा आयोजित दोस्रो पूर्वोत्तर ओलम्पिक खेलमा सिक्किम राज्यले ३ स्वर्ण पदकसँगै मोठ ५० मेडल हत्याएको छ। सिक्किम राज्यबाट यस ओलम्पिकमा २३० जना एथलेटिक्सहरू अनि अधिकारीहरूको टोलीले अंशग्रहण गरेको थियो। विभिन्न खेलमा सहभागी सिक्किमेली खेलाड़ीहरू १९ खेलमा फाइनलमा पुग्न सफल भएका थिए अनि मोठ ५० मेडल आफ्नो नाममा गर्न सफल भएका छन्। यस ओलम्पिकमा सिक्किमेली खेलाड़ीहरूले ३ स्वर्ण पदक, १६ रजत पदक अनि ३१ काँस्य पदक हासिल गरे। जसमध्ये आर्चेरीमा २ काँस्य, एथलेटिक्समा ५ रजत अनि १ काँस्य, बास्केटबलमा १ स्वर्ण, बक्सिङमा १ स्वर्ण, १ रजत अनि ४ काँस्य, कराँतेमा १ स्वर्ण, ३ रजत अनि ८ काँस्य, ताइक्वाण्डोमा ४ रजत अनि १० काँस्य, वेटलिफ्टिङमा २ काँस्य अनि वुसुमा २ रजत अनि ५ काँस्य पदक सामेल रहेको छ। ५० मध्ये २४ वटा पदक महिला खेलाड़ीहरूले हत्याएका हुन्।
सिक्किम ओलम्पिक एसोसिएशनले सबै एथलेटिक्सहरूलाई यस उपलब्धिको निम्ति बधाई एवं शुभकामना दिएका छन्। सबै सहयोग अनि प्रोत्साहनको निम्ति उनीहरूले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरेका छन्। मुख्यमन्त्री तामाङले मेघालयका मुख्यमन्त्रीसँग सम्पर्क गरेर सिक्किमेली खेलाड़ीहरूबारे सोधीखोजी गरेका थिए अनि एथलेटिक्सहरूसँग पनि कुराकानी गरेका थिए। यस ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा राज्यका भवन तथा आवास अनि सामाजिक न्याय विभागीय मन्त्री सञ्जीत खरेल, जनस्वास्थ्य अभियान्त्रिकी विभागीय मन्त्री भीमहाङ लिम्बू उपस्थित भएका थिए। उद्घाटन अनि समापन कार्यक्रममा मेघालयका मुख्यमन्त्री कोर्नाड साङ्मा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। अब तेस्रो पूर्वोत्तर ओलम्पिक खेल नागाल्याण्डमा हुने भएको छ।










