खरसाङ: आज खरसाङमा चाइल्ड लाइनले विश्वव्यापी बाल बालिका दिवस पालन गरेको छ। प्रत्येक बाल-बालिकाहरू आफ्नो अधिकारबाट वञ्चित नहोस, तिनीहरूले आफ्नो अधिकार प्राप्त गर्न सकोस् तथा ती बाल-बालिकाहरूलाई तिनीहरूको अधिकार र कानून थाहा होस् अनि आफ्नो अधिकारको निम्ति आफै लड्न सकोस् भन्ने उद्देश्यले एउटा कार्यक्रमको आयोजना गरिएको थियो। यस अवसरमा यहाँको मोटर स्ट्याण्डबाट एउटा सचेतना र्रैली निकालेर खरसाङ शहरको परिक्रमा गयो। उक्त रैलीमा सहभागी बाल-बालिका तथा अन्य सदस्यहरूले बाल अधिकारमाथि लेखिएको प्ला कार्डहरू बोकेका थिए। सप्ताव्यापी रूपमा गरिँदै आइरहेको आजको यस कार्यक्रममा विशेष गरेर खरसाङ चाइल्ड लाइनका प्रतिनिधि एवम् सदस्यहरू लगायत पुलिस कर्मचारीहरू, हिल फुटबल एसोसिएशनका प्रमुख तथा चर्चित फुटबल खेलाड़ी नगेन तामाङ, खरसाङ ट्राफिक पुलिस कर्मचारीहरू, सनसाइन स्कूलका विद्यार्थी अनि शिक्षक-शिक्षिकाहरू, लेट्स गो फाउण्डेशनका प्रतिनिधिहरू, आवाज गैर सरकारी संस्था, खरसाङ एफएबी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। यस कार्यक्रमलाई सफल पार्न सहयोग प्रदान गर्ने सबै संघ संस्था, विद्यालय, पुलिस कर्मचारीहरू लगायत खरसाङ चाइल्ड लाइनका सदस्यहरू अनि खरसाङवासीप्रति खरसाङ चाइल्ड लाइनकी संयोजिका ईशा लेप्चाले आभार प्रकट गरेकी छन्।











