१९ नोभेम्बरः रिषिहाट टी स्टेट, दार्जीलिङको जीवन ज्योति परिवारको तत्त्वावधानमा आयोजित ओपन गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा मंगपू लाब्दा र सोरेंग एफसी-ले फाइनलमा स्थान बनायो। शनिवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा मंगपू लाब्दाले घूम-जोरबंग्लोलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट कुसुम छेत्रीले २ गोल गरिन्। एक गोल आत्मघाती रह्यो। यसरी नै घूम-जोरबंग्लोबाट रिंकू राईले १ गोल गरिन्। यसबीच वी एफसी-को टीम नआउँदा सोरेंग एफसी-ले वक्ओभर पाएर फाइनलमा स्थान बनायो। वास्तवमा वी एफसी-का केही खेलाड़ीहरू कन्याश्री कपमा हिस्सा लिन कलकत्ता गएकी हुनाले अनि अन्य खेलाड़ीहरूका बोर्ड परीक्षा रहेको हुनाले टीमले सेमिफाइनल खेल्न सकेन। अब २७ नोभेम्बरमा खेलिने फाइनलमा मंगपू लाब्दा र सोरेंग एफसी-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट सिद्धान्त तामाङले बताएका छन्।









