२८ मईः राजस्थान रोयल्सका ओपनिंग ब्याटर जोस बटलरले शुक्रवार राति असाधारण शतकीय ईनिंग्स खेले। यसको साथै बटलरले एकाधिक रेकर्ड पनि तोड़े। इण्डियन प्रीमियर लीग (आईपीएल)-को यो उनको सबैभन्दा सफल सीजन रह्यो। उनले यस सीजनमा ४ वटा शतक बनाइसकेका छन्। शुक्रवार अहमदाबादमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) र राजस्थानबीच क्वालीफायर २ (एक प्रकारले सेमिफाइनल) म्याच खेलियो। लक्ष्यलाई खेदो गर्दै बटलरले आफ्नो उत्कृष्ट ब्याटिंगद्वारा म्याचलाई एकतर्फी बनाइदिए। यस शतकको साथै बटलरले विराट कोहलीको बराबरी गरे। कोहलीको निम्ति २०१६-को सीजन सबैभन्दा सफल रहेको थियो। त्यस समय कोहली आईपीएलको एउटा सीजनमा ४ वटा शतक बनाउने पहिलो ब्याटर बनेका थिए। कोहलीले २०१६-मा १६ वटा म्याचमा ८१.०८-को औसत अनि १५२.०८-को स्ट्राईक रेटले ९७३ रन बनाएका थिए। उनी चारपल्ट त नक्आउट रहेका थिए। त्यस सीजनमा कोहलीले ३८ वटा छक्का लगाएका थिए। कोहलीको असाधारण प्रदर्शनको दममा आरसीबी त्यस सीजनमा फाइनलसम्म त पुगेको थियो तर सनराइजर्स हैदराबाद विरुद्ध हारको सम्मुखीन भएको थियो।

आईपीएलको यस सीजनमा बटलरले अहिलेसम्म ८१८ रन बनाइसकेका छन्। उनले अब फाइनल म्याच खेल्नेछन्। शुक्रवार उनले कोहलीको एउटा सीजनमा सर्वाधिक शतकको रेकर्डलाई बराबरी गरे। यसबाहेक शुक्रवार राति बटलरले आईपीएलमा आफ्नो पाँचौं शतक बनाए। तेस्रो स्थानमा संयुक्त रूपले रहने शेन वाट्सन, डेविड वार्नर र केएल राहुलले ४-४ वटा शतक बनाएका छन्। यसको साथै उनी आईपीएलमा सर्वाधिक शतक बनाउनेहरूका सूचीमा क्रिस गेल (६ वटा शतक) पछि कोहलीसँग संयुक्त रूपले दोस्रो स्थानमा पुगे। म्याचमा बटलरले ६० बलमा अविजित १०६ रन बनाए। राजस्थानले ११ बल बाँकी रहँदै म्याच जित्यो। फाइनलमा राजस्थान रोयल्सको भिड़न्त स्थानीय टीम गुजरात टाइटन्ससँग हुनेछ। यी दुई टीमले आईपीएलको यस सीजनमा शुरुदेखि नै असल प्रदर्शन गरेको थियो अनि पोइण्ट्स टेबलमा पनि शीर्ष दुई स्थानमा रहेको थियो। म्याचको कुरा गर्दा गत म्याचमा शतक बनाउने रजत पाटीदार (५८)-को अर्द्धशतकीय ईनिंग्सको दममा आरसीबीले पहिलो ब्याटिंग गर्दै राजस्थान रोयल्स विरुद्ध २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो। त्यसपछि रोयल्सले जीतको निम्ति प्राप्त भएको लक्ष्यलाई सजिलै हासिल गऱ्यो। बटलरले आफ्नो शतकीय ईनिंग्समा १० वटा चौका र ६ वटा छक्का लगाए। राजस्थानबाट बटलर बाहेक कप्तान सञ्जु सेमसनले २३ र यशस्वी जयसवालले २१ रनको योगदान दिए। म्याचमा राजस्थानको दुई पेस बलर प्रसिद्ध कृष्णा र ओबेड म्याकयले पनि असल बलिंग गरे। यी दुईले ३-३ विकेट हासिल गरे।