गान्तोकः आज एकातिर सरकारमा तीन वर्षको कार्यकाल पूरा भएकोमा सत्तारुढ़ एसकेएम पार्टीले खुशियाली मनायो भने अर्कोतिर प्रमुख विपक्षी पार्टी एसडीएफले धोका दिवस पालन गऱ्यो। मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा एसकेएम पार्टीले सरकार गठन गरेपछि बितेका तीन वर्षको कार्यकालमा सिक्किमे जनतालाई चौतर्फी धोका भएको आरोप लगाउँदै एसकेएम सरकारको स्थापना दिवसलाई विपक्षी एसडीएफ पार्टीले ‘धोका दिवस’ को रुपमा पालन गरेको हो। एसडीएफले राज्यका सबै निर्वाचन क्षेत्र साथै गान्तोक स्थित पार्टी मुख्यालयमा कालो झण्डा देखाएर धोका दिवस पालन गऱ्यो। यस अवसरमा एसकेएम पार्टीले चुनाव अघि जनतालाई दिएका वचनहरू किन पुरा गरेन भन्ने प्रश्न गर्दै ठाउँठाउँमा एसडीएफ कार्यकर्ताले प्लाकार्डहरू देखाए। पार्टीका उपाध्यक्ष केटी ग्याल्छेनको अध्यक्षतामा राजधानीको इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा आयोजना गरिएको कार्यक्रम अवधि पार्टीकी चेली मोर्चा महासचिव शकुन गुरुङ र प्रचार प्रसार शाखाका उपाध्यक्ष कृष्ण खरेलले एसकेएम सरकारले जनतालाई दिएका वचन पुरा नगरे सबै पक्षबाट धोका मात्रै दिएको आरोप लगाए। यसरी नै केटी ग्याल्छेनले सरकारले वचन अनुरूप काम नगरेपछि नीतिगत रुपमा विरोध जनाउन एसडीएफले धोका दिवस पालन गरेको र यो कसैको व्यक्तिगत विरोध नभएको बताए। सरकार गठन गरेको अवसरमा एसकेएमलाई बधाई र शुभकामना दिँदै एसडीएफ उपाध्यक्ष ग्याल्छेनले आफूहरुको विरोध सरकार गठनका निम्ति नभएर जनातालाई दिएको वचन पुरा नगरेकोमा एसकेएम सरकारलाई बाटो देखाउने पहल स्वरूप गरिएको जुन एउटा प्रजातान्त्रिक अभ्यास रहेको बताए। यसरी नै एसडीएफ पार्टीले राज्यका सबै समष्टिमा धोका दिवस पालन गरेको समाचार प्राप्त भएको छ। यसै क्रममा पश्चिम सिक्किमका आठैवटा समष्टिमा धोका दिवस पालन गरियो। याङथाङ समष्टिअन्तर्गत लाङगाङमा स्थानीय एसडीएफ समर्थकहरू भेला भएर कालो झण्डाको साथ धोका दिवस पालन गरे भने गेजिङ बर्मेक समष्टिमा पनि समष्टिस्तरीय अध्यक्ष धन रुप लिम्बूको अगुवाइमा एसडीएफ कार्यकर्ताले धोका दिवस पालन गरेको समाचर प्राप्त भएको छ।











