एसकेएम सरकारद्वारा तेस्रो वर्षगाँठ पालन
सिक्किम पब्लिक सर्विस डेलिवेरी एक्ट पारित गर्ने मुख्यमन्त्री तामाङको घोषणा
गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा सरकारको पहिलो कार्यकालको तेस्रो वर्षगाँठ आज राजधानीको मनन केन्द्रमा पालन गरियो। राज्य सरकारको गृह विभागद्वारा आयोजित कार्यक्रममा सत्तारुढ़ एसकेएम पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि रहेका थिए। कार्यक्रममा सिक्किम सरकारका मुख्य सचिव एससी गुप्ताले स्वागत सम्बोधन राखे भने वित्त एवं योजना विभागका अतिरिक्त मुख्य सचिव भीबी पाठकले बितेका तीन वर्षमा सरकारले गरेका विभिन्न कामहरूको विस्तृत रिपोर्ट पेश गरे। पछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पीएस गोलेले यस विशेष अवसरमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी र राज्य सरकारको पक्षमा राज्यवासीलाई राज्यको सेवा गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिए। यसरी नै उनले बितेका तीन वर्षमा कुशल नेतृत्वमार्फत सिक्किम राज्यलाई सहयोग अनि मार्गदर्शन प्रदान गरेकोमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यपाल गंगा प्रसाद साथै सम्पूर्ण सरकारी कर्मचारी अनि अधिकारीलाई पनि धन्यवाद दिए। राज्य सरकार कोरोना महामारीको प्रतिकूल परिस्थितिमा पनि धेरै उल्लेखनीय कार्य गर्न सफल बनेको जसको श्रेय सरकारी कर्मचारी अनि अधिकारीहरूलाई जाने उनले बताए। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा सङ्कटकालबीच पनि बितेका तीन वर्षमा सरकारले आफ्नो वाचाहरू पूरा गरेको दावी गरेका छन्। यस अवधि आफ्नो सरकारले नयाँ कामहरू मात्र नगरेर पछिल्लो सरकारले गरेका कथित गल्तीहरूलाई पनि सुधार्ने काम गरेको उनको भनाइ रहेको छ। मुख्यमन्त्रीको भनाइअनुसार सरकारले गरेका यी कामहरूलाई विपक्षीहरूले मान्यता दिनेछैनन् तर विभिन्न केन्द्रीय एजेन्सीहरूले सरकारको कामको मुल्याङ्कण गरेर मान्यता प्रदान गरेको छ। मुख्यमन्त्री गोलेले आज सरकारी विभागहरूमा राज्यवासीको कुनै पनि काम निर्धारित समयावधिमा पूरा गरिनुपर्ने उद्देश्यकोसाथ चाँड़ै सिक्किम पब्लिक सर्विस डेलिवेरी एक्ट पारित गर्ने घोषणा पनि गरे। मुख्यमन्त्री गोलेले वितेको तीन वर्षमा उनको सरकारले गरेका विभिन्न कामहरूको झण्डै तीन घण्टासम्म बखान गरे तर यस अवधि एकैपल्ट पनि एसकेएम पार्टीको प्रमुख चुनावी मुद्दा रहेको विधानसभा लिम्बू तामाङलाई जनजातिको आसन आरक्षण, छुटेका जात गोष्ठीलाई जनजातिको मान्यता र भ्रष्चाचार विरुद्ध सीबीआई जाँचको बारेमा भने एकै शब्द पनि बोलेनन्। आजको कार्यक्रममा मुख्यमन्त्री गोलेको बाहुलीबाट सिक्किम शहरी गरीब आवास योजनाका १८ जना लाभार्थीलाई घर निर्माणको टोकन प्रदान गरियो भने सूचना एवं जनसम्पर्क विभागद्वारा प्रकाशित पुस्तक ‘थ्री इयर्स अफ् गुड गभर्नेन्स’-को पनि विधिवत लोकार्पण गरियो। कार्यक्रमा राज्य विधानसभाका अध्यक्ष, उपाध्यक्ष, लोकसभा सांसद, मन्त्रीमण्डला सदस्यहरू, विधायकगण, एंव विभिन्न विभागका अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।