मङ्पु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, मंगपु लाब्दा समष्टिको तत्वधनमा कर्मी सभा आयोजना गरियो। सभामा पार्टीका अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाको विशेष उपस्थिती रहेको थियो। पार्टी अध्यक्ष अनित थापाले आफ्नो सम्बोधनमा आगामी चुनावलाई नै केन्द्रमा राखेर कार्यकर्ताहरुलाई जोश भर्ने काम गरे। चुनाव जस्तो कठिन समय नेतृत्वलाई नहुँदो रहेछ भन्दै उनले बाहिर र भित्रको कुरा उठाएर हाम्रो संगठनलाई फुटाउने प्रयास हुँदैछ तर हामी एउटा परिवार हौं भनी बताएका छन्। उनले आफू किन जीटीए चुनावमा लागेका भन्ने कारण बताउँदै जीटीए क्षेत्रमा अधुरो भएको विकासको कामहरू पूरा गर्नलाई जीटीए चुनावमा जाँदैछु भनी बताएका छन्। कर्मीहरु एकजुट भएर मङ्पुलाई जिताउनुपर्छ भन्दै उनले पार्टीले जुन निर्णय लिएको हुन्छ, त्यो निर्णयलाई कर्मीहरुले पनि मानेको हुनुपर्छ र कार्यकर्ता अनि नेतृत्वको सोच मिलेपछि हामी थुप्रै कुरा हाँसिल गर्न सक्छौं भनी बताएका छन्। थापाले तपाईं अनि मैले बोकेको सपना पूरा गर्नु हो भने हामीले जीत हाँसिल गरेको हुनुपर्छ, लिडरले चुनाव जितेर होइन मङ्पुले जितेको हुनुपर्छ तब मात्र मङ्पुमा काम हुन्छ भनी बताए।
केन्द्रिय समितिका सदस्य विजय कुमार राईले आगामी हुने चुनावमा पहाडको जनताले भाग लिने आव्हान गर्दै चुनाव आउँदैछ, मलाई लाग्छ यो चुनाव जातिको भविष्य परिवर्तन गर्ने, हाम्रो भाग्यलाई सुभाग्य बनाउने, हाम्रा नानीहरूको दिन फर्काई ल्याउने अवसर हो भनी बताए। यसै कार्यक्रममा रम्बी क्षेत्रबाट गोजमुमो त्यागेर २५ जनाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाएका छन्।









