अनित थापा र राजेस चौहानद्वारा श्रध्दाञ्जली अर्पण
सोनादा: रंगबुल निवासी समाजसेवी दावा माइला डुक्पाको ७२ वर्षको उमेरमा निधन भएको छ। उनको निधन उपचारको क्रममा सिलगढीको एक निजी नर्सिङ होममा आज अपरान्ह ४.३० बजेतिर भएको जानकारी प्राप्त भएको छ। उनले आफुपछि पत्नी, तीन छोरीहरू र एक छोरा छोड़ी गएका छन्। रंगबुल निवासी समाजसेवी दावा माइला डुक्पाको निधनमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले आफ्नो फेसबुक पेजमा श्रध्दाञ्जली अर्पण गर्दै दावा माइला डुक्पा समाजसेवी थिए र उनी मिलनसार व्यक्ति थिए भनी बताएका छन्। उनले दावा माइला डुक्पा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अभिभावकको रूपमा थिए भनी बताउँदै उनको आत्माले चिर शान्ति पाउन् भनी बताएका छन्। त्यसरी नै दावा माइला डुक्पाको निधनमा जीटीएको भाइस चेयरम्यान एंव रंगबुल धोतरिया रंगमुक समष्टिको सभासद राजेस चौहानले दावा माइला डुक्पा रंगबुल क्षेत्रको अभिभावक थिए भन्दै उनको निधनले हाम्रो सम्पूर्ण क्षेत्रलाई नै ठूलो क्षति पुगेको भनी बताउँदै उनी आफ्नो पनि अभिभावक रहेको बताएका छन्। चौहानले भने, ‘मेरो माता पिताको निधनपछि उनलाई नै मैले अभिभावक मान्दै आएको र उनको निधनले धेरै दु:खित बनाएको छ। मैले मेरो अर्को अभिभावक पनि गुमाउनु पर्दा ह्रदय गह्रौ भएको छ।’