खरसाङ: गुरूमैत्री संघ तीनधारेको आयोजना तथा खरसाङ निवासी धर्मगुरू फुन्छोग पाखरिन- म्हेम्हेको धार्मिक अगुवाईमा पदमा छ्योलिङ गुम्बा मिठाईडाँड़ा तीनधारेमा चार दिवसीय ल्हाबाव दुइछेन बौद्ध धार्मिक पर्व गत समापन भएको छ। १२ अनि १३ नोभेम्बरमा खरसाङको नयाँ बस्ती एवं खरसाङ तामाङ गुम्बाका लामागणको उपस्थितिमा तीनधारे गुम्बाका लामागणले सामुहिक रूपमा बुम पाठ पूजा सम्पन्न गरे। विविध रुपमा सामुहिक पूजा आराधानासहित उक्त बौद्ध धार्मिक पर्वको समापन दिवस पालन गरियो। यस अवसरमा धर्मगुरू फुन्छोग पाखरिनले ल्हाबाव दुइछेनबारे सारगर्भित दिव्य प्रवचन राखेका थिए। यसैबीच आमन्त्रित सिविटारको बाघमारास्थित झ्याङ्गतेर सामतेलिङ छयोलिङ्ग गुम्बाका प्रमुख लामा एक सय वर्ष पुगेका धर्मगुरू लावाङ्ग दोर्जे(स्याङदेन म्हेम्हे) लाई तामाङ बुद्धिष्ट एसोसिएशन मिठाईडाँड़ा तीनधारेको पक्षबाट सम्बर्ध्दना जनाइएको छ। यय अवसरमा अभिनन्दन पत्र एसोसिएशनका सभापति प्रेम कुमार योञ्जनले पठन गरे पश्चात गुम्बाका संरक्षक एवं संरक्षिका क्रमैले छवाङ्ग बम्जन र मिना योञ्जनको बाहुलीबाट प्रदान गरियो भने उनै वयोवृद्ध धर्मगुरू स्याङ्देन म्हेम्हेको करकमलबाट उपस्थित भक्तजनलाई वाङ्ग अभिषेक प्रदान गरियो। अर्कोतिर एसोसिएशनको पक्षबाट आमन्त्रित धर्मगुरू फुन्छोग पाखरिनलाई सचिव महेन्द्र गोम्देनको बाहुलीबाट स्मृति चिन्ह भेट प्रदान गरियो। त्यसरी नै पदमा छ्योलिङ्ग गुम्बाका लामा म्हेम्हे साङ्गे योञ्जनलाई कदमतला, सिलगढ़ीमा ६ महिना गुफावास बस्नु भएको पुण्य कार्यप्रति सम्मान जनाउँदै एसोसिएशनको पक्षबाट सम्बर्द्धना पत्र महेन्द्र गोम्देनले पठन गरे पश्चात आमन्त्रित धर्मगुरू फुन्छोग पाखरिन एवं तीनधारे गुम्बाका लामा प्रमुख बुम्बा डुम्जनको बाहुलीबाट प्रदान गरियो। यस पुण्य कार्यमा आमन्त्रित धर्मगुरू, फुन्छोग पाखरिनको उल्लेखनीय योगदान रहेको बताउँदै अखिल भारतीय तामाङ बौद्ध संघका सदस्य सुरेन बम्जनले धर्मगुरू फुन्छोग पाखरिनप्रति कृतज्ञता प्रकट गरे भने साङ्गे योञ्जनलाई बधाई शुभकामना दिँदै उत्तरोत्तर प्रगतिको आशिषहरू दिएका छन्।

तीनधारे र वरिपरिका भक्तजनको उपस्थिति रहेको समापन दिवसको धार्मिक अनुष्कानमा अखिल भारतीय तामाङ बौद्ध संघका सदस्य सुरेन बम्जन, सिविटारको बाघमारा गुम्बाका सभापति, रञ्जन बम्जन एवं तीनधारे म्हाणीपा संघ, नयाँ कमान म्हाणीपा संघका पदाधिकारीवर्ग लगायत सदस्यवर्गको विशेष उपस्थित रहेको थियो। उपरोक्त चार दिवसीय बौद्ध धार्मिक पर्व, ल्हाबाव दुईछेन २०२२ को सफल आयोजनामा सहयोग पुऱ्याउने सम्पूर्ण दातावर्गलाई गुरू मैत्री संघ तीनधारेका सचिव साङ्गे योञ्जनले धन्यवाद ज्ञापन गरेका छन्। त्यसरी नै ल्हाबाव दुइछेन वर्ष २०२२ को समापन दिवानको समाप्तिको घोषणा संघका सभापति अनित स्याङदेनले गरेको जानकारी उप सभापति दिपेन लामाले दिएका छन्।