कालचिनी – कालचिनी खण्डको निमती झोड़ा चियाबारीको फ्याक्ट्रीबाट अज्ञात चोरहरूले सीटीसी तयार चियापत्ती चोरेको मामिला सम्बन्धमा कालचिनी थानामा निमती झोड़ा चियाबारीको प्रबन्धनपक्षले एउटा लिखित अभियोग दर्ता गरेको छ। प्राप्त जानकारीअनुसार बुधबार २ बजीतिर कम्पनीको एउटा वाहन फ्याक्ट्रीमा पस्ने क्रममा केही अज्ञात समूह फ्याक्ट्रीको अर्को साइडमा जमा भएको देख्दा वाहन चालकले हल्लाखल्ला गरेको थियो। ती अज्ञात समूह मौका छोपेर भाग्न सफल भए तापनि सीटीसी तयार चियापत्तीको २४ ब्याग (१५६० किलोग्राम) त्यहाँ छोड़ेर भागेको थियो।
घटना सम्बन्धमा प्रबन्धनपक्षले जाँच गर्दा ती अज्ञात चोर समूहले यसभन्दा अघिदेखि नै चियापत्ती चोर्दै आइरहेको तथ्य भेटाईएको जनाएका छन्। हिसाब गर्दा प्रायः २७०० किलोग्राम चियापत्ती स्टकबाट कम्ति रहेको भेटाइएकोले प्रबन्धनपक्षको होश उँड़ेको थियो। आज निमती झोड़ा चियाबारीको प्रबन्धक आनन्द लस्करले यस सम्बन्धमा एउटा लिखित अभियोग कालचिनी थानामा दर्ता गरेको छ भने पुलिसले घटनाको जाँच गरिरहेको जनाएका छन्।









