चार खेलाडी आफ्नो पाँचौ विश्वकप खेल्दै
नयाँ दिल्ली: फिफा विश्वकप २०२२का लागि सहभागी ३२ वटै राष्ट्रको आधिकारिक टोली सार्वजनिक भइसकेको छ। ३२ राष्ट्रका कूल ८३१ खेलाडी कतारमा विश्वकपको लागि जानेछन्। जसमध्ये चार खेलाडी आफ्नो पाँचौ विश्वकप खेल्दैछन्। कतार विश्वकप अघि चार जनाले मात्र विश्वकपका पाँच संस्करण खेल्ने कीर्तिमान बनाएका छन्।
यसअघि मेक्सिकोमा एन्टोनिओ कार्बाजल र राफा मार्क्वेज, जर्मनीमा लोथर म्याथ्युज र इटलीका जियानलुजी बुफोनले पाँचवटा विश्वकप खेलेका थिए। कार्बाजलले १९५० देखि १९६६ ससम्म खेलेका थिए भने म्याथ्युजले १९८२ देखि १९९८ सम्म खेलेका थिए। यस्तै बफोनले १९९८ देखि २०१४ सम्म तथा मार्क्वेजले २००२ देखि २०१८ सम्म खेलेका थिए ।सन् २००६ देखि लगातार चार विश्वकप खेलेका चार खेलाडी कतारमा पाँचौ विश्वकप खेल्दैछन्। विश्व फुटबलकै सुपरस्टार द्वय लियाेनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आफ्नो पाँचौ विश्वकप खेल्दैछन्। यस्तै मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचाओ र आन्द्रेस गुअर्डाडो पनि पाँचौ विश्वकप खेल्दैछन्। कतारमा विश्वकप खेल्न जानेमाध्ये मेसी(३५ वर्ष) सबैभन्दा अनुभवी जसले चार विश्वकपमा कूल १९ खेल खेलेका छन् र ६ गोल गरेका छन्। कतार विश्वकपमा फाइनलसम्म पुगेर ७ खेल खेलेमा मेसी सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन्। यसैगरी रोनाल्डोले चार विश्वकपमा गरी १७ खेल खेलेका छन् भने ७ गोल गरेका छन्। मेक्सिकोका गोलकिपर ओचाओले ८ खेल खेलेका छन्। सोही देशका कप्तानका गुअर्डाडले १२ खेल खेलेका छन्।