गान्तोक: जनजातीय गौरव दिवसको अवसरमा राज्यको सामाजिक कल्याण विभागले यहाँको एमजी मार्गमा पैदल यात्राको आयोजना गऱ्यो। विभागीय मन्त्री सञ्जीत खरेलले यस पैदल यात्रालाई हरियो झण्डा देखाए। यस पैदल यात्रामा एकलव्य मोडल रेसिडेन्सियल स्कूल ग्याङगाप, सुन्तले, पारखा, स्वायाम अनि आशाराम स्कूल झुसिङथाङका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। पैदल यात्रामा सहभागिता जनाउने सबै विद्यार्थीहरूलाई मन्त्री सञ्जीत खरेलले स्वागत जनाउँदै शुभकामना व्यक्त गरे। विद्यार्थीहरूले क्षेत्रीय अनि राष्ट्रिय स्तरमा आफ्न पहिचान बनाइरहेका छन् भन्ने उल्लेख गर्दै मन्त्री खरेलले विद्यार्थीहरूलाई थप प्रगतिको निम्ति प्रोत्साहित गरे। कार्यक्रममा विभागीय सचिव छेवाङ ग्याछो लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।