
आज बुन्दैछु यो स्वेटर
केही सपनाहरू सँगालेर
………..घर हाल्दैछु,
मनको प्रत्येक अनुभवहरू बटुल्दै
मेरा भावनाहरू सल्बलाउँदै
अघि बढाइरहेछु यो बुनाई
धागोको रगंहरू छान्दै
कहिले यो रगं
कहिले त्यो रगं
कहिले नटुटने सपनाहरू समेट्दै
कहिले पीरहरूको घर मार्दै
काखी निकाल्दैछु।
कहिले सकारात्मक अनुभूतिको
प्याटन लाउँदै
कहिले मनको नैराश्यतालाई मात दिँदै बटनको दुलो बनाउँदैछु।
मनभरिको उकुसमुकुस
बुनाईको काँटाले छेड्दै,
मनमा सहजता ल्याउने
बुनाईको प्रत्येक लहरमा
रमाइलो पल इच्छाहरू
मनैभरि सजाएर
आज बुन्दैछु यो स्वेटर।।।
(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)