खरसाङ: दार्जीलिङ पहाडमा भाजपाले संगठन विस्तार र सुदृढीकरण गर्ने अभियान जोड तोडले गरिरहेको छ। विभिन्न ठाउँबाट विभिन्न दलका समर्थकहरु भाजपामा जोडिने क्रम धारावाहिक रुपमा चलिरहेको पार्टी प्रतिनिधिहरूले बताएका छन्। यसै क्रममा आज खरसाङ महकुमा अन्तर्गत पंखाबारी, अम्बोटे-लङभ्यू मण्डल क्षेत्रका एक सांगठनिक सभा जिल्ला उपाध्यक्ष बिनोद मोक्तानको अध्यक्षतामा खरसाङको रोहिणी गेस्ट हाउस नजिकमा सम्पन्न भयो। सभामा अम्बोटे, रोहिणी,गाडी धुरा,लङभ्यू, तीनधारे, सिरुबारी आदि क्षेत्रका धेरै मानिसहरु भेला भएका थिए। सभालाई सोनाम लामा मण्डल इन्चार्जले सञ्चालन गरेका थिए भने उपाध्यक्ष एलएम लामा, महासचिव सुजेन्द्र राई, विधान सभा संयोजक योगेश प्रधान, पूर्व मण्डल अध्यक्ष मदन जोगी, नारी नेत्री बिनिता सुब्बा, मण्टु कुण्ड आदि उपस्थित भएर वक्तव्य राखेका थिए। वरिष्ठ उपाध्यक्ष एलएम लामाले आफ्नो वक्तव्य राख्दै पहाडको राजनीति विचित्र प्रकारको छ, चरित्र पनि अचम्म प्रकारको देखिन्छ भन्दै जातिको राजनैतिक उन्मुक्तिको आकाँक्षा र सपना राख्छौं तर समयको महत्त्व नै बुझ्न चाहन्दैनौं।त्यसैले अहिलेको समय भनेको पहाड,तराई र डुवर्सका बौद्धिक जमात, शिक्षित समाज, युवा र महिला शक्तिहरु मुद्दाको लागि भाजपामा सामेल भइसक्नुपर्ने हो भनी बताएका छन्। उनले भाजपाको सांगठनिक शक्ति पहाडमा जत्ति शक्तिशाली बन्छ,त्यति नै मुद्दालाई समयमा फत्ते गर्न बल मिल्नेछ भन्दै अर्काको काँधमा अब मुद्दा बोकाएर हुँदैन। हामी आफैंले सफल पार्ने सोंच बनाउनुपर्छ भनी बताएका छन्। लामाले अघि भने, ‘पहाडको मुद्दा आधारित दल र संस्थाहरुले पनि गोर्खाल्याण्डको आवाज उठाइरहेका छन्। यसले पनि हाम्रो मुद्दालाई सहयोग पुग्नेछ। गोर्खाल्याण्ड गोर्खा जाति सम्पूर्ण अनि पहाडका सबैको राजनैतिक साझा मुद्दा हो। जनताले बुझ्नुपर्छ कि गोर्खाल्याण्डलाई बाधा पुरयाउनु हाम्रै गोर्खा जातिका केही व्यक्तिहरुलाई राज्यले प्रयोग गरिरहेको छ। केही सुख सुविधा उपलब्ध गरिदिँदा जातिको चिन्हारी भुल्ने र भुल्याउने राज्यको कसरत धारावाहिक छ। जिटीए कंगाल छ। बंगाल पनि कंगाल छ। पहाडमा पञ्चायत चुनाव गर्ने प्रस्तुति चल्दैछ। तर पहाडको भूगोल, जनसंख्या र समस्यालाई किनारीकृत गर्दै नयाँ पञ्चायत चुनाव विधि पास गरेको छ। ग्राम पञ्चायतहरु अब पहाडमा वृद्धि हुने ढोका बन्द गरिएको छ। पहाडलाई सबैतिरबाट संकटमा पार्ने सुनियोजित षड्यन्त्र यथावत छ। पहाडका जनता होशियार हुनुपर्छ। यसपल्टको पञ्चायत चुनावमा विचार मिल्ने दल र संस्थाहरुसित मिलेर चुनावमा जानेछौं। जनताको भावनालाई सम्मान दिएर मैदानमा जानेछौं। जनताको गणतान्त्रिक अधिकारलाई रक्षा गर्नु नै भाजपाको मूल कर्तव्य हो। हाम्रो प्रतिवाद भनेको नयाँ चुनाव विधिमाथि हो।’

सभामा सर्वसम्मतिले खरसाङको पंखाबारी, अम्बोटे लङभ्यू मण्डल समिति गठन गरिएको छ। यस नयाँ मण्डल कमिटीमा अध्यक्ष- सुमन राई, उपाध्यक्ष मितराज छेत्री, शरण प्रधान, महासचिव मन्टु कुण्ड, बिशाल शंकर, सचिव प्रणित छेत्री, किसन छेत्री र कोषाध्यक्ष राजेश थापा लगायत कार्यकारी सदस्यहरु निर्वाचित भएका छन्।