केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले नोभेम्बर १७ मा शिलान्यास गर्नेछन्
सिलगढी: बालासनदेखि सेवक आर्मी क्याम्पसम्म एलिवेटेड चार लेनको सडक निर्माण ३०० दिनमा सम्पन्न हुने अनि अब सिलगढी र पहाडका जनताले १० महिना मात्र प्रतीक्षा गर्नु पर्ने भनि सांसद राजु विष्टले अाज आफ्नो सम्बोधनमा बताएका छन्। आज सिलगढीको दगापुर फुटबल मैदानमा केन्द्रीय यातायात मन्त्रीको कार्यक्रम स्थलको अवलोकन गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन्। उनले भने, केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले नोभेम्बर १७ मा सिलगढीको दगापुर फुटबल मैदानमा बालासनदेखि सेवक आर्मी क्याम्पसम्म चार लेनको सडक परियोजनाको शिलान्यास गर्नेछन्। यस कार्यक्रमको लागि यहाँ स्टेज तयार भइरहेको छ। आज सांसद राजु विष्ट घटनास्थल पुगेका छन्। पछि उनले भने कि नोभेम्बर १७ पहाडवासी लगायत सिलगढीका जनताका लागि ऐतिहासिक दिन हुन गइरहेको छ। बालासनदेखि सेवक आर्मी क्याम्पसम्म चार लेनको सडक निर्माण आयोजनाको शिलान्यास गरिने भएको छ।