बिमल गुरूङले अनित थापालाई कटाक्ष गर्दै सभासद किन्ने पैसाले चिया श्रमिकलाई सहयोग गर्नु पर्ने बताए

19-40-21-bim.jpg

दार्जिलिङ: “सभासद किन्ने पैसाले बन्द चिया बगानहरूको श्रमिकहरूलाई सहयोग गरे पुण्य मिल्छ।” यो मन्तव्य गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष विमल गुरूङले पोखेको हुन्। दार्जिलिङको सिंहमारीस्थित गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यालयमा आज पार्टीको केन्द्रीय कमिटीको सभा भएको थियो। यस सभामा पार्टी केन्द्रीय अध्यक्ष विमल गुरूङ स्वयम् उपस्थित थिए। केन्द्रीय कमिटिको सभा शुरू हुन अघि पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष बिमल गुरुङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एवम् जीटीए चीफ अनित थापातिर ईशारा गर्दै सभासद किन्ने प्रथा बन्द गर्नु पर्छ भनी बताए। एकजना सभासदलाई लाखौँ रुपियाँ दिएर आफ्नो पार्टीमा सामेल गराउनु भन्दा सभासद किन्ने रुपियाँ पैसाले बन्द चिया बगानहरूको श्रमिकहरूलाई सहयोग पुराए पुण्य मिल्छ भनी तिनले कटाक्ष कसे। तिनले अझ भने, जीटीए सभामा ४५ वटा समष्टि छ। जीटीए सभाको चुनाउ भएर सभा गठन भएको ५, ६ महिना वितिसक्यो तर आजसम्म ४५ वटा समष्टिहरूको बाटोको अवस्था सोचनीय रहेको छ। कुनै पनि समष्टिमा जीटीएको पक्षबाट हुन पर्ने विकासको कामहरू भएको छैन। सत्ता पक्षमा रहेका राजनैतिक पार्टीले सभासदहरूलाई रुपियाँ र पदको प्रलोभन देखाउँदै पार्टीमा सामेल गराउने काम गरेको मोर्चा अध्यक्ष गुरूङले गम्भीर आरोप लगाए। जीटीए सभामा १२ देखि १३ वटा जति विभागहरू छ अनि यी विभागहरूमा दुई तीनजना सभासदहरूलाई दायित्व सुम्पिएको छ। कुनै पनि विभागीय सभासदहरूले स्वतन्त्र रूपमा काम गर्न सकेको छैन भन्ने पनि विमल गुरूङले आरोप लगाए। जीटीएले अहिले जे जति कामहरू गर्दैछ ती सबै केन्द्र सरकारको योजनाहरू रहेको तिनले दावी गरे। तिनले आफु जीटीए चीफको कार्यभारमा छँदा पहाडको विभिन्न क्षेत्रहरूमा विकाशमूलक कार्यहरू गरेको दावी गर्दै ती क्षेत्रहरूको अवस्था अहिले सोचनीय स्थितिमा पुराएको बताए। जीटीएको सत्ताधारी राजनैतिक दलले विपक्षीहरूप्रति सानी आमाको व्यवहार अप्नाएको आरोप लगाउँदै भेदभावको नीतिले पहाडको विकास कदापि नहुने गुरुङले बताए। मोर्चा अध्यक्ष बिमल गुरुङले अन्तमा अझ भने, जीटीए सभाको ४५ सभासदहरूलाई किनेर पनि केही फाइदा हुने छैन। तिनीहरूलाई सभासद किन्न होइन, जीटीए क्षेत्रहरूको विकास गर्नको लागि जनताले सभासद चयन गरेको हो।

About Author

Advertisement