नक्सलबारी: नक्सलबारीमा स्थित बिरसा मुण्डा हिन्दी महाविद्यालयमा आज बीर बिरसा मुण्डाको जयन्ती भव्य रुपमा पालन गरियो। आजको यस कार्यक्रममा उत्तर बंगाल विश्वविद्यालयका उप-कुलपति ओमप्रकाश मिश्रा, सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोष, बाघडुग्रा कलेजका प्राचार्य मिनाक्षी चक्रवर्ती आदि अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा अतिथि लगायत अन्य मानिसहरूले बीर बिरसा मुण्डाको सालिगमा माल्यार्पण गर्नको साथै तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा उत्तर बंग विश्वविद्यालयका उप-कुलपति ओमप्रकाश मिश्रले बिरसा मुण्डाको जन्मदिनमा बिरसा मुण्डा कलेजमा आउनु पाउँदा आफुलाई धेरै खुशी लागेको बताए। तिनले भने, राज्य सरकारले बीर बिरसा मुण्डाको जयन्तीमा राज्यमा बिदाको घोषणा गरेको छ। बिरसा मुण्डाको बलिदानलाई मानिसहरूले कहिल्यै भूल्न सक्ने छैनन्।