खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिमरिङ शिवखोलामा निर्मित प्राथमिक स्वस्थ्य केन्द्र जीर्ण अवस्थामा रहेको कारण खण्डहरमा परिणत भएको छ। दार्जीलिङ गोर्खा पार्वत्य परिषदको समयमा अति सुविधाजनक स्वास्थ्य चौकी वर्तमान समय जीटीएले पनि पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने कुनै चासो नदेखाएको कारण स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ। स्थानीय बासिन्दा आरबी तामाङले दागोपाप कालमै निर्माण भएको यो स्वस्थ्य केन्द्र विषयमा मीडियामार्फत् अपिल गर्दै खरसाङ महकुमा अन्तर्गत सिमरिङ शिवखोला चियाबारी खरसाङ शहरदेखि नजिकै हुँदा हुँदै पनि यस क्षेत्र वरिपरिका साधारण जनता स्वस्थ्य सेवाको यथोचित ब्यवस्था नहुँदा खरसाङ पुग्न बाध्य हुनु परेको छ। यहाँको एउटै मात्र प्राथमिक स्वस्थ्य केन्द्र पार्वत्य परिषदको पालामा बनिएको भएता पनि दीर्घ दिनदेखि मरम्मति र सञ्चालनमा नआउँदा खण्डहरको रुपमा परिणत भएको छ। उक्त स्वस्थ्य केन्द्रको यथोचित मर्मत – सम्भार गरि संचालनमा ल्याउन सकिए सिमरिङ- शिवखोला, सहित वरिपरिका क्षेत्रहरु सिमरिङ, मालुटार। नरबुङ आदि बसोबास गर्ने क्षेत्रवासीहरु पनि लाभान्वित बन्ने छन् भनी आरबी तामाङले जानकारी दिएका छन्। विधायक बीपी बजगाई, जीटीए लगायत सम्बन्धित विभागहरुले खण्डहरमा परिणत भएको यस स्वस्थ्य चौकीलाई पुनर्निर्माण गरी संचालनमा ल्याउन सके यस क्षेत्रका वासिन्दाहरु लाभान्वित हुने थिए भनी अपिल समेत आरबी तामाङले गरेका छन्।