एसएलबीसीको ७३औं बैठकमा मुख्य सचिवद्वारा बैंकहरूको त्रैमासिक कार्यनिष्पादनको समीक्षा

00-73rd-SLBC-Photo-1

गान्तोक: सिक्किम राज्यका लागि ७३औं राज्य स्तरीय बैंककर समितिको बैठक ११ नोभेम्बरको दिन राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा सम्पन्न भयो। यस अवसरमा वाणिज्य एवं उद्योग विभागका आयुक्त एवं सचिव एचके शर्मा, पशुपालन विभागका सचिव डा. पी सेन्थिल कुमार, आरबीआईका महाप्रबन्धक एवं प्रभारी अधिकारी किशोर परियार, नाबार्डका महाप्रबन्धक एसके गुप्त, एसबीआइका क्षेत्रीय प्रबन्धक एवं एसएलबीसीका समन्वयक एसडी लामा लगायत विभिन्न ब्याङ्क शाखा अनि राज्य सरकारका शीर्ष अधिकारीहरू पनि उपस्थित थिए।

वित्तीय वर्ष २०२२-२३ को सेप्टेम्बर, २०२२ मा समाप्त त्रैमासिकका लागि वार्षिक ऋण योजना अन्तर्गत ब्याङ्कहरूको प्रगतिको समीक्षा गर्न बैठक आयोजन गरिएको थियो। एसएलबीसी सञ्चालन समितिका अध्यक्ष किशोर परियारले ३० सेप्टेम्बर,२०२२ सम्म सबै ब्याङ्कको उपलब्धिबारे विस्तृत प्रतिवेदन पेश गरे। यस अवसरमा एसबीआई, सिक्किम दूध संघ तथा पशुपालन एवं पशु चिकित्सा सेवा विभागबीच राज्यमा दूध उत्पादक कृषकहरूको प्रवर्तनका लागि त्रिपक्षीय सम्झौतामा पनि हस्ताक्षर गरियो। यसका साथै राज्यमा कृषि ऋणको प्रगतिको निगरानी अनि समीक्षा गर्न एसएलबीसीको उप-समिति गठन गर्ने पनि प्रस्ताव पारित गरियो। समितिलाई पीएम किसानका लाभार्थीहरूलाई किसान क्रेडिट कार्डको सन्तृप्ति स्तर हासिल गर्न आवश्यक कदम चाल्ने कार्यभार प्रदान गरिएको छ।
आफ्नो सम्बोधनमा मुख्य सचिव पाठकले सबै ब्याङ्कको कार्यनिष्पादनको समीक्षा गर्ने क्रममा सन्तुष्टि व्यक्त गर्दै सबैलाई राज्य सरकारको ध्वजवाहक कार्यक्रम कौशल युवा स्टार्टअप योजना अन्तर्गत पात्र ऋणकर्ताहरूलाई ऋण सुविधा प्रदान गरी प्रोत्साहित गर्न आग्रह गरे। यसका साथै कमसल कार्यप्रदर्शनी ब्याङ्कहरूले अघि आउँदै अन्य ब्याङ्क सरह राज्यको आर्थिक विकासका लागि दायित्त्व निर्वाह गर्न पनि उनले अनुरोध गरे।
यसै क्रममा सिक्किम राज्यमा अन्तिम व्यक्तिसम्म वित्तीय समावेशन सुनिश्चित गर्न पनि उनले आरबीआइलाई आग्रह गरे। राज्यमा उद्यमिताको संस्कृति प्रोत्साहित गर्न राज्यभित्र अनि बाहिरका सफल उद्यमीहरूका सफलताका गाथा एमएसएमईका बैठकहरूमा उदीयमान उद्यमीहरूबीच साझा गर्न पनि उनले सुझाउ अघि सारे। यसका साथै राज्यमा स्थापित एटीएम मशिनहरूको निगरानी गर्नका साथै राज्यमा आउने पर्यटकहरूलाई आवश्यक समयमा नगदको उपलब्धता सुनिश्चित गराउन नियमित रूपमा समीक्षा गर्न अनुरोध पनि उनले गरे। यसले राज्यमा पर्यटन उद्योगलाई टेवा पुग्ने उनले बताए। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *