कालचिनी – भाजपा नेता शुभेन्दु अधिकारीले तृणमूलका सर्वभारतीय महासचिव तथा तृणमूलका युवराज मानिएका अभिषेक ब्यानर्जीमाथि बारम्बार कटाक्ष गरिरहेको राजनैतिक घटनाक्रमबीच आज अलिपुरद्वार जिल्ला तृणमूल छात्र परिषदको पक्षबाट शुभेन्दु अधिकारीलाई हुलाकमार्फत ‘गेट वेल सून’ पत्र पठाएको छ।
सोमबार अलिपुरद्वार जिल्ला तृणमूल छात्र परिषदका धेरै कार्यकर्ता र समर्थकहरूले भाजपा नेता अनि राज्य विधानसभाका विपक्षी नेता सुभेन्दु अधिकारीको नाममा सो हुलाक अस्त्र पठाएको तृणमूल छात्रा परिषदका नेताहरूले जनाएका छन्।
शुभेन्दु अधिकारीले तृणमूल सर्वभारतीय महासचिव अभिषेक ब्यानर्जीमाथि पटकपटक विभिन्न आरोप र कुमन्तव्य गरिरहेको तृणमूल नेताहरूको भनाई छ।
यसै प्रसङ्गमा आज तृणमूल छात्र परिषदका कार्यकर्ता र समर्थकहरूले शुभेन्दु अधिकारीलाई शारीरिक अनि मानसिक अस्वस्थताको आरोप लगाउँदै शुभेन्दु अधिकारीको शीघ्र स्वास्थ्य लाभको कामना गरेर गेट वेल सूनको कटाक्ष पत्राचार गरिएको तृणमूल छात्रा परिषदको अलिपुरद्वार जिल्ला सभापति समीर घोषले जनाएका छन्। चिट्ठीसँगै तृणमूल छात्र परिषद्का कार्यकर्ताहरूले गुलाफको फूल र शुभेन्दु अधिकारीको निम्ति काउसो बनेको तृणमूल महासचिव अभिषेक ब्यानर्जीको एउटा तस्बिर पनि पठाएको तृणमूल छात्रा परिषदका नेताहरूले बताएको छ।