खरसाङ: मानव अधिकार एशोसिएसनले देवकोटा पाठशालाका नानीहरूसंग बाल दिवस पालन गरेका छन्।
मानव अधिकार एशोसिएसन , खरसाङले चाँदमारीस्थित देवकोटा प्राथमिक विद्यालयमा विद्यार्थीहरू, अभिभावकवर्ग अनि शिक्षक शिक्षिकाहरूसंग मिलेर बाल दिवस मनाएका छन्।विद्यार्थीहरूलाई सम्बोधन गर्दै एशोसिएसनका अध्यक्ष सरोज चौहानले भारत वर्षको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको जन्म जयन्तीको दिन हामी बाल दिवस मनाउँछौं भन्दै शुरुमा भारतमा २० नोभेम्बरको दिन बाल दिवस मनाउने गरिन्थ्यो तर सन् १९६४ मा जवाहरलाल नेहरूको मृत्युपश्चात भारतीय संसदले पारित गरेर १७ नोभेम्बरदेखि मनाउन थालिएको हो भनी बताएका छन्। मानव अधिकार एशोसिएसनले किन बाल दिवस मनाउन आएका हुन् भनी प्रश्न गर्दा सरोज चौहानले भनिन्, ‘मान्छेको जन्मदेखि मृत्युसम्म जुन अधिकार छ, त्यो अधिकार दिलाउने मुख्य काम नै मानव अधिकार एशोसिएसनको हो। बालकहरुले पढ्नु पाउनु, खेल्नु पाउनु, बालकलाई कुपोषण देखि मुक्त राख्नु आदि जस्ता कुरा बाल अधिकारभित्र पर्छ। यही कुरा अभिभावक अनि शिक्षकहरूसँग साझा गर्न पनि आजको कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो।”
पाठशालाका इन्चार्ज विशाल शर्माले एशोसिएसनलाई धन्यवाद दिँदै भने, “मानव अधिकार एशोसिएसनका पदाधिकारीहरुले हामीमाझ आएर बाल दिवस मनाउन आएका। यो हाम्रो जस्तो सानो पाठशालाको निम्ति ठूलो कुरा हो।

१९८४ मा यो पाठशालाको भवन निर्माण भएको थियो। अब चाँडै नै यो पाठशाला मोडल पाठशालामा परिणत हुनेछ।” एशोसिएसनले नानीहरूलाई लिएर खेल खेलाएका छन्। नानीहरूलाई स-साना उपहारहरू पनि प्रदान गरिएको छ। बाल दिवस मनाउन अभिभावकहरू पनि उपस्थित थिए। एशोसिएसनको तर्फबाट तपेस्वर प्रसाद, सर्वर आलम, फिरोज अख्तर, रमेश राई, आनन्द मोहन झा अनि सरोज चौहान उपस्थित थिए। मानव अधिकार एशोसिएसन खरसाङको कार्यालय नयाँ बजारमा छ। एशोसिएसनले मानव अधिकारमाथि नि:शुल्क परामर्श अनि कानुनी सल्लाह पनि प्रदान गर्ने गर्छन्।