१४ नोभेम्बरः कालेबुङ भेटरन्स क्लबको तत्त्वावधानमा आयोजित ढेण्डुप भूटिया स्मृति विनर अनि बीबी प्रधान स्मृति रनर अप् आठौं भेटरन्स फूटबल टुर्नामेण्ट (आमन्त्रणी)-मा आइतवार घूम-जोरबंग्लो भेटरन्स (दार्जीलिङ)-ले आफ्नो म्याच जित्यो। मेला ग्राउण्डमा भएको एकतर्फी म्याचमा घूम-जोरबंग्लो भेटरन्सले पेदोंग भेटरन्सलाई ७-०-ले पराजित गऱ्यो। घूम-जोरबंग्लो भेटरन्सले अब १५ नोभेम्बरमा खेलिने म्याचमा जोंग्री भेटरन्स (गान्तोक)-को चुनौती स्वीकार्नेछ। टुर्नामेण्टमा सोमवारदेखि दोस्रो राउण्डको म्याचहरू शुरु हुनेछ। सोमवार खेलिने पहिलो म्याचमा दार्जीलिङ टाउन भेटरन्स र युनाइटेड भेटरन्स क्लब कालेबुङबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच सिक्किम बोइज क्लब भेटरन्स (गान्तोक) र यूकेएफसी भेटरन्सबीच खेलिनेछ। यस भेटरन्स टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच १८ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ।