गोरुबथान (महेश्वर प्रधान): पान डाडा देखि फरेष्ट अफिस हुँदै ग्राम पन्चायत सम्म पुग्ने बाटोको अवस्था एकदमै शोचनीय छ। आजभन्दा धेरै वर्ष अघि बनिएको यो सडकले त्यसपछि भने मरमत्तिसम्म पाएन। सरदार मणिकुमार प्रधानको सरदारीमा बनिएको यो बाटोले धेरै हिउँद बर्खा झेल्यो तर अहँ नयाँ अलकत्रा देख्न पाएन। एकपटक मरमत्ति नआएको अवस्यै होइन आएको थियो तर स्तरीय मरमत्ति हुन सकेन। धेरै चुनाव आयो गयो,प्रत्येक पल्ट सबै नेताहरुले आश्वासन नदिएको पनि होइन तर बाटो मरमत्ति वा बाटो नयाँ हुन सकेन। कहिले व्यक्तिगत रुपमा, कहिले सामुहिक रुपमा त कहिले सामाजिक रुपमा यो बाटोको दुरावस्था बारे सम्बन्धित विभाग, राजनैतिक पार्टीलाई मेमोरेन्डम चडाइने कार्य भयो।तर बाटो भने पटक्कै बनिएन। धेरैपल्ट यहाँको समाजको सदस्यहरुले आफ्नो ल्याकतमा बाटो टाल्ने काम गर्यो तर बर्खाको भेलले टालेको सिमेन्ट र ढुंगा पान डाडाको बाटो भरि पुर्याइ दिन्थ्यो। यसपल्ट भने गोर्खा नव ज्योति संघ, बन बिभाग र लोवर आहलेका मानिसहरु मिलेर दुइ आइतबार र गुरु नानक जयन्तीको छुट्टीमा सबै मिलेर पान डाडा देखि फरेष्ट अफिससम्म बाटोको मरमत्ति गरियो।