गान्तोक: पूर्वोत्तर भारतको अरूणाचल प्रदेशमा आयोजन हुने महत्वपूर्ण साहित्य उत्सवमा सिक्किमका लगनशील कवि अमर बानियाँ लोहोरोले सहभागी बनेर आफ्नो प्रस्तुती दिएका छन्। कवि लोहोरोले अरुणाचल प्रदेशको सूचना तथा जनसम्पर्क विभागद्वारा आयोजन गरिएको चौथो अरुणाचल प्रदेश साहित्य उत्सवमा सिक्किमबाट प्रतिनिधि साहित्यकारको रूपमा उपस्थिति दिए।
सेमिनार, कविता वाचन, कथा वाचन, लेखकसित भेटघाट, कविता लेखनमा कार्यशाला तथा पुस्तक प्रदर्शन जस्ता विभिन्न साहित्यित गतिविधिहरू समावेश गरिएको साहित्य उत्सवमा सिक्किमबाट प्रतिनिधित्व गर्न पाउनु महत्वपूर्ण कुरा रहेको कवि लोहोरोले साहित्य उत्सवबाट फर्किआएपछि आफ्नो विचार साझा गरेका छन्। कवि लोहोरसित भारतका सबै राज्यका स्थापित कवि, कथाकार अनि साहित्यकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
अरुणाचल प्रदेशको नामसाइ नामक स्थानमा गत ३ देखि ५ नोभेम्बरसम्म सम्पन्न भएको चौथो साहित्य उत्सवमा कवि लोहोरोले नेपाली कविता र त्यसको अनुवाद कविता वाचन गरेका थिए। उपमुख्यमन्त्री चोउना मिनद्वारा उद्घाटन गरिएको साहित्य उत्सवमा ६६ जना साहित्यकारले आफ्ना मातृभाषा र भारतका विभिन्न भाषाका साहित्य सर्जकहरूले आफ्ना सिर्जना अनुवाद सहित प्रस्तुत गर्ने मञ्च प्राप्त गरेका थिए।
उपमुख्यमन्त्री मिनले राज्यको मौखिक साहित्यलाई संरक्षण र समृद्धिको निम्ति दस्तावेजीकरण गर्नुपर्ने विषयमा जोर दिएका थिए।