१३ नोभेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा गोर्खा स्पोर्टिंग क्लब (नागरी) च्याम्पियन भयो। सिंगबुली खेल मैदानमा आइतवार भएको फाइनलमा गोर्खा स्पोर्टिंग क्लबले जंक्शन स्टार, सिलगढ़ी (Siliguri)-लाई ३-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट प्रियांशु राणाले २ अनि वांगदेन तामाङले १ गोल गरे। यसरी नै भाग्यले साथ नदिँदा म्याच गुमाउने जंक्शन स्टारबाट अनमोल तामाङले गोल गरे। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूमा गोर्खा स्पोर्टिंग क्लबका प्रियांशु राणाले प्लेयर अव् द म्याच, वांगदेन तामाङले हाईएस्ट स्कोरर र विवेक राईले बेस्ट गोलकीपरको पुरस्कार जिते। यसरी नै पोखरीबुङ राइडर्सका विमल छेत्रीले बेस्ट गोल, लोहागढ़ एफसी-ले सर्वश्रेष्ठ अनुशासित टीम, परिचित घिमिरेले बेस्ट टीम म्यानेजर र अमन बीके-ले प्लेयर अव् द टुर्नामेण्टको ट्रफी जिते। यसरी नै गर्ल्स फूटबल टुर्नामेण्टमा रविन्द्रनाथ हाई स्कूल, सौरेनीले पाइनहल एकाडमीलाई पराजित गरी ट्रफी जित्यो।